नयाँ निर्माण हुन लागेको चेपाङ संग्रहालय र कोसेलीघरको डिपिआरअनुसार बनाइएको चित्र

हेटौंडा– करिब १० वर्षअघि स्थापना भएर पनि बेवास्तामा परेको चेपाङ संग्रहालयलाई व्यवस्थित बनाउँदै गाउँमा पर्यटन प्रवद्र्धन गर्न मकवानपुरको राक्सिराङ गाउँपालिकाले चासो देखाएको छ । अति सिमान्तकृत आदिवासी चेपाङ जातिको संस्कृति, भेषभुषा, रितिरिवाज झल्कने संग्रहालयको भवन निर्माण गरी कोसेलीघरको समेत स्थापना गर्न गाउँपालिकाले आगामी आर्थिक वर्ष गौरवको आयोजनाको रुपमा काम थाल्न बजेट विनियोजन गरेको छ ।

राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा संग्राहलय र कोसेली घर निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ मा १ करोड रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । ‘हाम्रो गाउँपालिका अधिकांश चेपाङ समुदायको बसोबास रहेको गाउँपालिका हो । पिछडिएका चेपाङ जातिको संस्कृति र रहनसहन झल्कने चेपाङ संग्राहालयलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धन गर्ने र गाउँको आम्दानी पनि बढाउने उद्देश्यले गौरवको आयोजनाको रुपमा नै राखेर हामीले काम अघि बढाएका छौं । आगामी वर्ष बहुवर्षीय ठेक्का लगाई संग्रहालय भवन र कोसेली घर निर्माण सुरु हुन्छ ।’ अध्यक्ष मल्लले भने । कोसेली घर र संग्रहालय भवन निर्माण गर्न करिब २ करोड रुपैयाँ लाग्ने अनुमान गाउँपालिकाले गरेको छ । आगामी वर्ष १ करोड छुट्याएर ठेक्का लगाएर काम सुरु गर्ने र अर्को वर्ष थप बजेट हाल्ने अध्यक्ष मल्लले बताए ।

संग्रहालयमा चेपाङले प्रयोग गर्ने एकपाखे ढ्याङग्रो, जावी (झोला), हलोजुवा, गिट्ठा भ्याकुरलगायत कन्दमूलका फोटो, डोको, चुरा बाला, चमेराको जालो, धनुकाँडलगायत सामग्री राखिनेछन् । त्यस्तै गाउँपालिका आफैंले व्यवस्थापन गर्ने कोसेली घरमा चेपाङ समुदायले उत्पादन गरेको अग्र्यानिक चिउरीको मह, मास, गहत, तरुल, गिट्ठा भ्याकुर, सिस्नोलगायतका सामाग्री बिक्रीका लागि राखिनेछन् भने उक्त सामाग्रीको परिकारहरु सोही कोसेली घरमै पकाएर खुवाउने व्यवस्था पनि गरिन्छ । ‘चेपाङ समुदायको बारेमा बुझ्न आउनेहरुले संग्रहालय र कोसेली घरमा छिरेपछि सबै ज्ञान प्राप्त गर्न सक्छ, अग्र्यानिक र परम्परागत खानेकुरा खान र कोसेलीको रुपमा लैजान पाउँदा घुम्न आउनेहरु निकै आकर्षित हुनसक्छन् । यसले गाउँको आम्दानी पनि बढ्छ र रोजगारीको अवसरहरु पनि सिर्जना हुन्छ ।’ गाउँपालिका अध्यक्ष मल्लले भने ।

२०६६ सालमा चैनपुरमा संग्रहालय बनाइए पनि पछिल्लो समय त्यसको रेखदेख र स्तरोन्नती हुन नसक्दा जीर्ण अवस्थामा पुगेको थियो । तत्कालीन जिल्ला विकास समिति तथा चेपाङ विकास कार्यक्रमको सहयोगमा संग्रहालय निर्माण भएको थियो । मोटरबाटोको सुविधा नभएको र हिँडेर जान पनि टाढा हुने भएकोले अन्य क्षेत्रका मानिसहरु पनि सङ्ग्रहालय पुग्दैन थिए ।

तर अहिले चैनपुरसम्मै मोटरबाटो पुगेको र नयाँ भवन पनि बनेपछि भने धेरै पर्यटक संग्रहालयमा पुग्ने विश्वास गरिएको छ । संग्रहालय रहेको स्थानमा भीमफेदी जिल्ला पन्चायत प्रजा विकास कार्यक्रमको नाममा करिब दुई बिगाहा जग्गाको लालपूर्जा रहेको छ । पञ्चायतकालमा चेपाङ समुदायको लागि उक्त जग्गाको लालपूर्जा दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here