हेटौंडा–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बुधबार एक औपचारिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण आलोचित बनेका छन् । लामो समयदेखि चर्चाको रुपमा रहेको मकवानपुरको राक्सिराङ गाउँपालिका–४ स्थित परेवाभीरबाट सडक विस्तार गर्न नसकिने र त्यसको विकल्पसमेत खोजिएको भनी मुख्यमन्त्रीले दिएको अभिव्यक्ति हचुवाको भरमा गरिएको कल्पना मात्रै भएको त्यस क्षेत्रका जनप्रतिनिधिको दावी छ ।

बागमती प्रदेशमा भर्खरै बनेका ३२ वटा पुलको भौतिक पूर्वाधार विकास मन्त्रालयमै बसी बुधबार एकसाथ उद्घाटन गर्ने कार्यक्रममा मुख्यमन्त्री पौडेलले भनेका थिए–‘परेवाभीरको बारेमा तपाईहरु स्पष्ट हुन जरुरी छ । परेवाभीरबाट बाटो बन्दैन । तर, बाटो बन्छ, परेवाभीरलाई छलेर बन्छ । अब त्यो छलेर बन्ने कुरामा बजेट विनियोजन भइसकेको छ । काम भइसकेको छ । बाटोको सर्भे भइसकेको छ ।’ मुख्यमन्त्री पौडेलले अगाडि भने–‘परेवाभीर, परेवाभीर नै रहन्छ । बाटो बन्छ । त्यसलाई छलेर हामी जहाँ जानपर्ने हो, त्यहाँ बाटो पुग्छ । त्यो विषयमा मैले एकदम विश्वास दिलाएँ ।’

परेवाभीरबाट स्थानीयले कष्टकर यात्रा गर्न बाध्य भइरहेको र कतिपयले भीरबाट लडेर ज्यानसमेत गुमाउनु परिरहेको पीडालाई सञ्चारमाध्यमले बाहिर ल्याइरहेका बेला मुख्यमन्त्री पौडेलले पत्रकारहरुसँग पनि असन्तुष्टी जनाए । ‘पत्रकार साथीहरुलाई के अनुरोध गर्दछु भने, हाम्रो आँखा त्यो परेवाभीरमा चाहिँ पर्दो रहेछ । सधैंभरी परेवाभीरको फोटो त आउँछ, मान्छे चाहिँ चारखुट्टा टेक्दै गएको । तर, यो दुङ्गु खोलाको पुलमा कहिलै आँखा पुग्दैन के । हरेक कुरालाई हामी किन त्यो आँखाले मात्रै हेर्छौ ?’ उनले भने ।

मुख्यमन्त्रीको यस्तो अभिव्यक्तिप्रति सत्तारुढ नेकपाकै प्रदेशसभा सांसद ओम घलानले मुख्यमन्त्रीले हचुवामा अभिव्यक्ति दिएको आरोप लगाए । परेवाभीर नजिकै रहेको राक्सिराङ गाउँपालिका–४ स्थित चौकीटारमा जन्मे हुर्केका सांसद घलानले साझाकुरासँगको कुराकानीमा भने– ‘उहाँले हचुवामा भन्नुभयो । हामी हचुवामा छैनौं, हामी यस क्षेत्रको भुक्तभोगी हौं । स्थानीयको पीडालाई मुख्यमन्त्रीज्यूले वास्ता गर्नुभएन । उहाँले कुरा चिप्लाउनुभयो ।’

परेवाभीरबाट बाटो बनाउनुको कुनै विकल्प नरहेको उनले बताए । ‘हजार वटा विकल्पको बाटो बनाए पनि परेवाभीरबाट बाटो बनाउनुको विकल्प छैन । चाइनाले भूगोगलबाट भूगोल जोड्ने भनेर हजार किलोमिटरको पुलको कल्पना गरेर अगाडि बढिरहँदा, हामी चाहिँ यहाँ चारसय मिटर छिचोल्नुपर्नेमा बाटै बनाउन सक्दैन भनेर सोच्छांै भने त्यो मुर्ख कुरा हो ।’ घलानले भने–‘प्राविधिक हिसाबले त बाटो बन्छ भनेर डिपिआर बनिसकेको छ त, डिपिआरलाई आधार मानेर बाटो बनाउनुपर्छ । बन्नसक्छ भनेर प्राविधिक अध्ययनले भनेको छ । यदि उहाँहरुले सक्नुहुन्न भने हामी चाहिँ बाटो बनाएरै छाड्छौं ।’

सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद सन्त प्रजाले पनि मुख्यमन्त्रीले कसैको इसारामा हचुवामा अभिव्यक्ति दिएको दावी गरे । ‘उहाँ आफू मुख्यमन्त्री भएर आफ्नो हैसियतमा बोल्नुभएको छैन, उहाँ कसैको इसारामा र कोही कार्यकर्ताको फोनको आधारमा धारणा बनाउनुभएको छ । यो आपत्तिजनक छ । परेवाभीरबाट बाटो बनाउनुको कुनै विकल्पै छैन ।’ प्रजाले भने । परेवाभीरमा बाटो बनाउने विषयमा डिपिआरसमेत गरी गाउँपालिकाले त्यसको डकुमेन्ट भौतिक पूर्वाधार विकास मन्त्रीलाईसमेत बुझाइसकेको भन्दै प्रजाले भौगोलिक अवस्थालाई हेर्दा अन्यत्रबाट बाटो बनाउनसक्ने अवस्था नै नभएको बताए । ‘बाटो बनाउन सकिन्छ भनेर प्राविधिकले नै पुष्टी गरिसकेको अवस्थामा परेवाभीरबाट बाटो बनाउन सकिँदैन भने कहाँबाट बाटो बनाउने भनिएको हो डोरमणि पौडेलले त्यसको नक्सा ल्याउनुप¥यो ।’ राक्सिराङ–७
धिराङ स्थायीबासी सांसद प्रजाले भने ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मुख्यमन्त्रीले भौगोलिक अवस्थितिबारे ज्ञान नै नलिई परेवाभीरबाट बाटो नबन्ने भनी अभिव्यक्ति दिएको बताए । ‘परेवाभीरबाट बाटो नबनाउने हो भने कहाँबाट बनाउन सकिन्छ त ? अरु कुनै विकल्पै छैन । मुख्यमन्त्रीज्यूले भौगोलिक अवस्थिति नै नबुझी परेवाभीर वरपर अन्यत्रबाट बाटो बनाउने भन्नुभयो । त्यस्तो अर्को विकल्प कहाँ छ, त्यहिँ गएर हेर्दा देखिन्छ ।’ अध्यक्ष मल्लले भने । गाउँको विकास र समृद्धिको लागि प्रदेश सरकार सहयोगी हुनुपर्नेमा बाधक जस्तो देखिन थालेको भन्दै उनले आपत्ति जनाए । आफूहरुले परेवाभीरको विकल्पको रुपमा राक्सिराङको केन्द्र चैनपुरदेखि बान्सिङ–मान्थाब–जिम्बु हुँदै रतुवासम्म जोड्ने सडकको पनि सर्भे गरेको बताउँदै अध्यक्ष मल्लले त्यताबाट सडक बनाउँदा झनै धेरै लामो र खर्चिलो हुने भएकाले आफूहरुले परेवाभीरलाई नै अन्तिम विकल्प मानेको सुनाए । चैनपुरबाट–बान्सिङ–मान्थाब–जिम्बु हुँदै रतुवा जोड्न करिब १२ किमि सडक खन्नुपर्ने देखिएको उनले बताए ।

गाउँपालिकाले गत आर्थिक वर्षमा प्रदेशले दिएको एक करोड रुपैयाँको विशेष अनुदानको रकमबाट चैनपुरदेखि बान्सिङ हुँदै जानको लागि ५ किलोमिटर ट्रयाकसमेत खोलेको छ । तर, धेरै घुमाउरो बाटो र त्यताबाट धेरै पुलहरु हाल्नुपर्ने देखिएपछि गाउँपालिकाले परेवाभीरमै शेरवाल उठाएर बाटो बनाउने योजनाको साथ अघि बढेको हो । गत वर्ष बनाइएको डिपिआर अनुसार परेवाभीरको ४ सय मिटर सडक बनाउन करिब ४ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । गाउँपालिकाले चालु वर्षमा सो भीरमा सडक बनाउन २ करोड रुपैयाँ पनि छुट्याएको छ । ‘चैनपुरबाट–बान्सिङ–मान्थाव हुँदै रतुवा जोड्न १२ किमि ट्रयाक खन्नुपर्ने र धेरै पुलहरु पनि बनाउनुपर्ने देखियो । चैनपुरबाट–परेवाभीर–दार्खा हुँदै रतुवा पुग्न ५ किलोमिटर मात्रै हुने देखियो । त्यसैले हामीले परेवाभीरकै बाटो पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं । यसमा प्रदेश सरकारले प्रयाप्त साथ दिइरहेको छैन ।’ अध्यक्ष मल्लले भने ।

परेवाभीरमा बाटो बनाइएमा मकवानपुरको मनहरीदेखि करिब ५२ किलोमिटरमा धादिङको मलेखुसम्म पुग्ने सडक विस्तार हुनेछ । स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा उक्त बाटोको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगिसकेको छ । राक्सिराङ गाउँपालिकाले बोर्डबारीदेखि रतुवासम्मको साढे ९ किलोमिटर सडकको सर्भे गरी ट्रयाक खोल्ने काम गरिरहेका बेला परेवाभीरमा रहेको करिब ४ सय मिटर कडा चट्टान रहेका कारण त्यहाँ शेरवाल उठाएर सडक बनाउनुपर्ने निष्कर्ष प्राविधिक अध्ययनबाट देखिएको थियो । गत वर्ष प्रदेशसभा सांसद ईन्द्रबहादुर बानियाँले पूर्वाधार विकास कोषबाट ५० लाख रुपैयाँ हालिदिएपछि चैनपुरदेखि बेलभट्टीसम्म सडकको ट्रयाक खोलिएको थियो ।

परेवाभीरसम्म ट्रयाक खोल्न अब एक किमि मात्रै बाँकी छ । त्यस्तै प्रतिनिधिसभा सांसद विरोध खतिवडाले सांसदकोषबाट हालेको ५० लाख रुपैयाँले दुङ्गुखोलादेखि दार्खासम्म ट्रयाक खोलिएको छ । ढिलो काम सुरु भएकाले ५० लाखमध्ये ३० लाख मात्रै खर्च भएको थियो । त्यस्तै दार्खाबाट रतुवासम्म गाउँपालिकाले नै ४५ लाख रुपैयाँ खर्च गरी ट्रयाक खोलिएको छ । ‘परेवाभीर यता र भीर उता सबै ट्रयाक पूरा भइसकेको छ । मात्र परेवाभीरमा शेरवाल उठाएर सडक बनाएपछि मनहरी–खैराङ–मलेखु सडकको ट्रयाक पूरा हुन्छ ।’ गाउँपालिका अध्यक्ष मल्लले भने ।

परेवाभीरको डिपिआर गरेको नारायणी इन्जिनियरिङ प्रालिका प्रबन्ध सञ्चालक राजन सापकोटाले परेवाभीरबाट बाटो बनाउन सम्भव रहेको आफूहरुले प्राविधिक निष्कर्ष निकालेको
बताए । आफूहरुले डिपिआरमा दिइएको डिजाइनअनुसार काम गर्ने हो भने परेवाभीरमा बाटो बनाउन सम्भव रहेको उनले बताए । ‘हामीले विस्तृत योजना बनाएर गाउँपालिकालाई बुझाएका छौं । हाम्रो इस्टिमेटअनुसार काम हुने हो भने त्यहाँ सडक बन्छ ।’ सापकोटाले भने ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेश चक्रपथअन्र्तगत धादिङदेखि मकवानपुरको मनहरी जोड्ने एक भाग निर्माण गर्नेबारे सर्भे भइरहेको भन्दै सर्भेको अन्तिम निष्कर्ष नआइसकेको बताए । चक्रपथभित्र परेवाभीरको बाटो पर्ने या नपर्ने भन्नेबारे पछि मात्र थाहा हुने उनले बताए । ‘जनताको अपेक्षा भनेको परेवाभीर पनि बन्नुपर्नेछ भन्ने रहेछ । परेवाभीरको बाटो बनाउनुपर्छ भन्नेकुरामा प्रष्ट छौं । परेवाभीरको डीपीआर माथिको पनि प्राविधिक अध्ययन गर्छौं । परेवाभीरमा बाटो बनाउँदै नबनाउने भन्ने कुरा होइन ।’ उनले भने । परेवाभीरलाई छलेर अन्यत्रबाट बाटो बनाउने भन्ने मुख्यमन्त्रीको अभिव्यक्तिमाथि भने उनले कुनै प्रतिक्रिया जनाउन चाहेनन् । मुख्यमन्त्रीले भनेको परेवाभीरको विकल्पको बाटो कुन हो भन्नेबारे पनि उनले खुलाएनन् ।

आजको साझाकुरा दैनिकमा यो समाचार छापिएको छ ।

यो भिडियो पनि हेर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here