हेटौंडा–भारत दार्जेलिङकी बरिष्ठ गायिका दाबा ग्याल्मोलाई यसवर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले ६६ वर्षीया ग्याल्मोलाई एक लाख रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले आगामी माघ १७ गते शनिबार एक कार्यक्रमकाबीच पुरस्कार हस्तान्तरण गर्न लागेको जानकारी दिएको हो ।

प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यका अनुसार संगीत क्षेत्रमा योगदान गरिरहेकाहरुलाई वरिष्ठताको आधारमा दिइँदै आइएको यो १२ औं पुरस्कार हो । कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमा विजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालदेखि उक्त पुरस्कार स्थापना गरेका हुन् ।

स्थापनाको वर्ष गीतकार अम्बर गुरुङलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । पछिल्लो पटक २०७४ सालमा गायक चेतन कार्कीलाई उक्त पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार संस्थापकको आमा बिजुलीमाया वनःको निधन र कोरोना भाइरसको महामारीका कारण दुई वर्ष उक्त पुरस्कार रोकिएको थियो ।

सन् १९९४ मा भारतको दार्जेलिङमा जन्मिएकी ग्याल्मोले ५ वटाभन्दा बढी गिती एलबम निकालेकी छन् भने गिती संग्रह पनि निस्किएको छ । उनका ‘सहरभित्र के को हल्ला’, ‘फूलहरु झरिगए, बोट कहिले झर्ने’, ‘देउरालीका ठिटी हो नक्कल पार्नु पर्दैन’, ‘बैगुनी छौ माया तिमी माया गर्छु भन्छौ ।’ जस्ता बोलका गीतहरु एक समय निकै चर्चित थिए ।

आगामी माघ १७ गते हेटौंडामा हुने विशेष कार्यक्रमकाबीच २० हजार राशीको भीम विराग संगीत युवा पुरस्कार दक्षिण एसियाकै पहिलो महिलाहरुको सांगीतिक समूह हार्मोनी महिला समूह पोखरालाई प्रदान गरिने पनि अध्यक्ष आचार्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here