हेटौंडा–बागमती प्रदेशको राजधानी हेटौंडामा ४१ करोड रुपैयाँभन्दा बढी रुपैयाँ खर्चिएर पाउडर दूध उत्पादन गर्ने कारखाना निर्माण सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार एक कार्यक्रमकाबीच हेटौंडा–१० स्थित सिसौघारीमा निर्माण हुन लागेको प्लान्टको शिलान्यास गरेका हुन् ।

पुस १ गते ठेक्का सम्झौता गरिएको प्लान्टको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् । एक वर्षभित्र सम्पन्न गर्नेगरी इजी इन्फ्राप्रालिसँग ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो । पाउडर प्लान्ट दैनिक ६० हजार लिटर दूध खपत गर्नसक्ने क्षमताको हुनेछ । नियमित रुपमा सञ्चालनमा आएमा प्लान्टबाट प्रतिदिन ५ मेट्रिक टन र प्रतिवर्ष एक हजार पाँच सय टन धुलो दूध उत्पादन हुने अनुमान गरिएको प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. शरणकुमार पाण्डेले जानकारी दिए ।

प्लान्टको शिलान्यास कार्यक्रममा बोल्दै बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले अब किसानले उत्पादन गरेको दूध नबिकेर सडकमा पोख्नुपर्ने बाध्यता हटेर जाने विश्वास व्यक्त गरे । किसानको समस्यालाई मध्येनजर गर्दै प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट स्थापना गर्न लागेको भन्दै पौडेलले प्रदेश सरकार सधैं किसानको पक्षमा रहेको बताए । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले प्लान्ट स्थापना भएपछि किसानले उत्पादन गरेको दूधको बजारीकरणमा समस्या नहुने दावी गरे । प्लान्टबाट बागमती प्रदेशसहित अन्य चार वटा प्रदेशका किसानलेसमेत लाभ लिनसक्ने उनले बताए ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले अब मिल्क होलीडे नहुने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर मतिना बैध जोसीलगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here