हेटाैंडा- नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले बैशाखमा निर्वाचन भएमा चुनावमा जान कांग्रेस तयार रहेको बताएका छन् । शनिबार मकवानपुरको प्रतिनिधिसभा २ को ‘ख’ अन्तर्गत मनहरी बजारमा भएको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उनले तर संविधानको मर्म र भावना विपरित गरिएको संसद् विघटनलाई बदर गरी संसद् पुर्नस्थापना गर्नुपर्ने माग गरे । ‘असंवैधानिक र अलोकतान्त्रिक रुपमा गरिएको संसद् विघटनलाई पुनस्र्थापना गर्नुपर्छ भन्ने हाम्रो माग हो’, नेता बानियाँले भने, ‘हामी न्यायालयको निर्णय सम्मान गर्छौं । यदी संसद् विघटनकै पक्षमा निर्णय आयो भने हामी चुनावमा जान तयार छौं ।’ नेपाल कम्युनिष्ट पार्टी अहिले सत्ताको स्वार्थ र भागबण्डा नमिलेर दुईभागमा विभाजन भएको आरोप लगाउँदै कम्युनिष्ट पार्टीलाई मिलेरै चुनावमा आउन चेतावनी दिए । ‘दुई भागमा विभाजन भएका कम्युनिष्टहरु मिल । हामी जनताको बलमा निर्वाचनमा जान तयार छौं’, बानियाँले भने, ‘हिजो राणा र राजालाई समाप्त पारेको कांग्रेसले नेपाललाई कम्युनिष्टमुक्त पनि गराउनेछ ।’ सर्बहारा र गरिबको कुरा गर्ने कम्युनिष्टले सत्तामा पुगेपछि सधैं जनतालाई घात गर्ने गरेको उनको आरोप थियो । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीको बीचमा सत्ता स्वार्थको लागि पार्टी एकता भएको तीन बर्षमै प्रमाणित भएको उनले दावी गरे । जनताको मत पाएर पनि कम्युनिष्ट पार्टी जनताको मनमा बस्न नसकेको भन्दै उनले लोकतन्त्र खतरामा पार्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । संसद विघटनको मुद्दामा राष्ट्रपतिको भूमिका समेत राम्रो नदेखिएको नेता बानियाँको भनाई थियो ।
यस्तै बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले भागबण्डा नमिलेका कारण सत्तारुढ दल नै सडकमा आएको धारणा राखे । प्रधानमन्त्री केपी शर्मा ओली महाराजा बन्न खोजेकोले जनतालाई साथमा लिएर कांग्रेस सडकमा आएको उनले जानकारी दिए । ‘प्रधानमन्त्री थप अराजक बन्दै गैरहेका छन् । संसद विघटन गरेर असंवैधानिक काम गरेका छन्’, चेपाङले भने, ‘जनताको अधिकार कब्जा गर्न खोज्ने केपी ओलीको कारण मुलुक ध्वस्त हुँदै गएको छ ।’ नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का सभापति लोक मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर सल्लाहकार भरत पराजुली, महासमिति सदस्य उमा दाहाल, रञ्जन कालाखेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी, राप्रपालगायतका पार्टी परित्याग गरी २६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । सभाअघि मनहरीको सिमपानीबाट सरकारको विरुद्धमा नाराबाजी गर्दै कांग्रेसका नेता कार्यकर्ताहरु मनहरी बजार पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here