हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिको ९ आंै अधिवेशन सम्पन्न भएको छ । सोमबार चैनपुरमा आयोजित हिउँदे गाउँसभाकाबीच विभिन्न ६ वटा निर्णय गरिएको छ । गाउँसभाले आ.व.२०७७/७८ को बजेट संसोधन, स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन, गाउँपालिकाको केन्द्रीय प्रशासनिक भवन र चेपाङ संग्राहलय भवन निर्माण बहुवर्षीय ठेक्का प्रणाली मार्फत अघि बढाउने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी न्यायिक समितिको वार्षिक प्रतिवेदन र मेलमिलापकर्ताहरुको नाम अनुमोदन गरिएको छ भने गाउँ सभा अन्तर्गत विधायन समिति, लेखा समिति, र सुशासन समिति गठन गर्ने पनि निर्णय भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समिक्षा पनि गाउँ सभाबाट अनुमोदन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।
गाउँपालिकाको अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको हिउँदे अधिवेशन उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सदस्य ओम बहादुर ग्लानको प्रमुख अतिथ्यता रहेको थियो ।

उद्घाटन समारोहमा बोल्दै ग्लानले मुलुकको पछिल्लो राजनीतिक घटना क्रमप्रति चिन्ता व्यक्त गरे । विकासलाई विकेन्द्रीतकरण गर्नको लागि संघियता ल्याएता पनि राजनितिक घटनाक्रमले नराम्रो संकेत गरेको उनले बताए । उनले राजाले गरेको जस्तो शासन ओलीले चालेका कारण चिन्तित बनेको बताए । उत्पादनलाई बढाएर मात्र राक्सिराङको विकास हुने भन्दै उनले अब भाषणभन्दा काम गर्नुपर्नेम जोड दिए ।

गाउँपालिका अध्यक्ष मल्लले गाउँपालिकामा सडक, विद्युत् खानेपानीलगायत पूर्वाधार विकासमा उल्लेख्य काम गरिएको दावी गर्दै विरोधीहरुले कामको मूल्यांकन गर्न नसकेको बताए । गाउँपालिकाले विभिन्न नमुना कार्यक्रमहरु ल्याएर काम गरिरहेको बताए । आमाबुबा बचाउ कार्यक्रम, बुहारी छात्रवृति, दलित छात्रवृति, गाउँपालिकामा डाक्टर राखिसकेको र छिट्टै १५ शैयाको अस्पताल निर्माणको तयारी रहेको बताए । गाउँपालिकाको मुख्य समस्या सडक र परेवाभिरको बाटो रहेको बताउदैं त्यो पनि ठेक्का प्रणालीमा गइसकेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, वडा ३ का अध्यक्ष बाबुलाल स्याङतान, गाउँपालिकाका प्रवक्ता तथा वडा ८का अध्यक्ष रामकृष्ण प्रजा, नेपाली कांग्रेस गाउँपालिका सभापति विरेन्द्र जिम्बा, नेकपा ईन्चार्ज बनस्तम थिङ, समाजसेवी चित्र बहादुर थापा, गाउँपालिका शिक्षक महासंघका अध्यक्ष मिथुन रुम्बा लगायतले आफ्नो भनाइ राखेका थिए । नवौं गाउँसभामा अडियो वडापत्र सार्वजनिक गरिएको थियो ।

नेपाली, चेपाङ र तामाङ भाषामा तयार पारिएको अडियो वडापत्र गाउँपालिकामा राखिएको हो । सभाबाटै गाउँपालिकाले स्थानिय विषयमा आधारित रहेर पाठ्यक्रम र पाठ्यपुस्तक सार्वजानिक गरिएको छ । आगामी शैक्षिक सत्र देअि सुरु हुनेगरी कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक सार्वजनिक गरिएको हो । गाउँसभामा विभिन्न विधामा सम्मान र पुरस्कृत गरेको छ । सभामा पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याउने सिधाखबर डटकमका सम्पादक तथा इमेज टेलिभिजनका मकवानपुर सम्वाददाता श्रीराम अर्जुन, गोरखापत्रका मकवानपुर संवाददाता शिवकुमार काशीलाई सम्मान गरिएको थियो ।

स्वास्थ्य चौकीका जग्गा दाता हरि बहादुर प्रजा, शिक्षक राजु रेग्मी, वडा ७ अध्यक्ष कुलबहादुर प्रजा, महिला स्वास्थ्य स्वंम सेविका गोमा शाह, स्वास्थ्यकर्मी सुर्य बहादुर थिङ, कर्मचारीहरुमा कमलकान्त घिमिरे, पान बहादुर तितुङ, ललितमान तामाङ र कार्यालय सहयोगी रेम्बो प्रजालाई सम्मान गरिएको थियो ।

त्यस्तै, गाउँपालिकामा रहेको पशुपालन तर्फ इम्मानुयल एकीकृत कृषि तथा पशुपालन फर्म, कृषितर्फ सक्रिय एकीकृत कृषि फर्म, पूर्वाधार निर्माणउपभोक्ता समूहतर्फ सामुदायिक स्वस्थ्य भवन निर्माण उपभोक्ता समिति, गैसस तर्फ दिगो विकासका लागि एकता नेपाल र इन्थ्थर बेन्जामिन फाउन्डेसन, विद्यालयतर्फ कालिका मावि, टोल विकास संस्थातर्फ सयपत्री मैसिराङ टोल विकास संस्था राक्सिराङ ८, उत्कृष्ट विद्यार्थी सन्तोष घलान र रसिला ब्लोनलाई सम्मान गरिएको थियो ।

गाउँपालिकाले विभिन्न प्राविधिक शिक्षा छात्रवृतिको लागि परेका निवेदकहरु मध्येबाट विषय अनुरुप ११ जना विद्याथीलाई तिन लाख २५ हजार छात्रवृति प्रदान गरेको छ । बुहारी छात्रवृति कार्यक्रम अन्तरगत परेका आवेदन अनुरुप ४ जनालाई १ लाख २० हजार प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here