हेटौंडा– मकवानपुरको बागमती गाउँपालिकाका एक प्रावि तहका प्रधानाध्यापकसमेत रहेका करार शिक्षकलाई गाउँपालिकाले बर्खास्त गरेको छ । लामो समयसम्म बिना सूचना विद्यालयमा अनुपस्थित भएको र स्पष्टीकरण माग्दा चित्तबुझ्दो जवाफ नपाएको भन्दै गाउँपालिकाले शिक्षकलाई पदबाट हटाएको हो ।

बागमती गाउँपालिका–४, सात्तले स्थित सूर्योदय आधारभूत विद्यालयमा प्रावि तहका करार शिक्षक एवम् प्रधानाध्यापक शेरबहादुर रानालाई गाउँपालिकाको गत पुस २३ गतेको निर्णयबाट पदबाट हटाइएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख रमेश बिडारीले जानकारी दिए । विद्यालयका अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबाट आएको उजुरीका आधारमा गाउँपालिकाको शिक्षा शाखाले अनुगमन गरेको थियो । प्रधानाध्यापक राना कोभिड १९ का कारण नेपाल सरकाले गरेको लकडाउनपछि विद्यालयमा अनुपस्थित भएको पाइएपछि उनलाई स्पष्टीकररण सोधिएको थियो । बिदा बस्नुपर्नाको कारणबारे स्पष्ट जवाफ नआएकाले पदबाट हटाउने निर्णय गरिएको बिडारीले बताए ।

प्रधानाध्यापक राना गाउँपालिकाको शिक्षा शाखाबाट फोन सम्पर्क गर्दा समेत कार्यालयको सम्पर्कमा नआएको, कार्यालयबाट माग भएको विविध विवरण, तथ्याङ्क तथा कागजातहरू समयमै उपलब्ध नगराएको पनि उनले बताए । गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिलाई प्रधानाध्यापक रानामाथि कारबाही गर्न निर्देशन दिए पनि आलटाल गरेको भन्दै शिक्षा ऐन २०२८ को दफा १६ ङ को उपदफा ५ को खण्ड ‘ग’ शिक्षा नियमावली २०५९ को परिच्छेद २३ को नियम १३८ साथै स्थानीय शिक्षा ऐन २०७४ को परिच्छेद ५ को दफा ३५ को उपदफा २ को खण्ड ‘ख’ बमोजिम कारबाही गरिएको जनाएको छ ।

२०६३ सालमा स्थापित विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा चारसम्म संचालित उक्त विद्यालयमा एक प्रावि तहको एक र एक बाल विकास केन्द्र सहजकर्ता र एक विद्यालय कर्मचारी कार्यरत छन् । दुई वर्ष पहिले पनि गाउँपालिकाले गीता आधारभूत विद्यालयका निमावि राहत शिक्षक पवन मिश्रलाई पनि कारबाही गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here