संजिव कार्की

बहारहरू आइरहन्छन्, गैरहन्छन् । कांग्रेस पार्टीको, पार्टी जीवन पनि बहारहरु आउने जाने क्रमको एउटा अटुट शृंखला हो । थुप्रै बहारहरु र थुप्रै असिना पानी हिउँ तुषारो खडेरी खपेको पार्टी हो कांग्रेस तसर्थ कांग्रेस सुख र दुखको सबै भोगाई बेहोर्ने सबैभन्दा पुरानो र लामो इतिहास भएको, इतिहास बनाएको पार्टी हो । उकाली चढ्ने र ओराली झर्ने सुख दुखका भर्यांङ्गमा कांग्रेस अनवरत यात्रारत छ । भलै यति लामो इतिहासमा कांग्रेस २०७४को संघीय र प्रदेश चुनावमा पराजित बनेपछि भने जुन ढंगले सम्हालिनु पर्थ्यो, होशमा आउनु पर्थ्यो र असफलता पनि सफलताको अभिन्न अङ्ग हो भन्ने यथार्थ मर्म बुझ्नु पर्थ्यो त्यो बुझ्न नसकिरहेको तथ्यले सबैलाई चकित पारेको छ ।

प्रत्येक ग्रास रुट र टोल सम्म आफ्नो जरा भएको पार्टी यसरी एक चुनावको पराजयमा नै अर्ध बेहोश हुनु र यदाकदा विक्षिप्त नै देखिनु नेतृत्वको असक्षमता भन्दा थोरैलेमात्र बिमति राख्लान । कांग्रेसको लागि संकट यो भन्दा ज्यादा ठूलो २०१७ सालमा दुई तिहाई सरकार अपदस्त गरेर राजा महेन्द्रले सत्ता हातमा लिंदा पनि थियो । २०५१ को मध्यावधिमा पराजित हुँदा पनि थियो । माओबादी जनयुद्धको मारमा सबैभन्दा पहिले काटिने मारिने अंगभंग हुने बिस्थापित हुने कांग्रेसका हजारौ कार्यकर्ता थिए त्यो अवधिमा पनि कांग्रेस संकटग्रस्त थियो ।

२०६४ को चुनावमा कांग्रेसको पराजय पनि कति कन्त बिजोगको थियो । माओवादी र नेकपा एमाले मिलेर सरकार बनाएपछि कांग्रेस लगभग सकिएको धेरैको अनुमान थियो तर यी सबै घटना र दुर्घटना, षडयन्त्र र असहजतामा नेतृत्वमा को थियो त्यसले अर्थ राख्छ । कसले सकिन लागेको पार्टी जोगाएको थियो रु पंचायत लागू गरेपछि ३० वर्षसम्म कांग्रेस कसरी बच्यो । यसको जबाफ हो त्यतिबेला कांग्रेसको नेतृत्वमा जननायक विपी कोइराला थिए भने उनका सहकर्मीहरुमा सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद,महेन्द्र नारायण निधि, शेख इद्रिस, बेनीबहादुर कार्की,जगन्नाथ आचार्य र मंगलादेवी सिंहहरु थिए । सबै दल कांग्रेसको नेतृत्वदायी भूमिकाको पर्खाइमा छन् । खै किन हो कांगेस आफै भित्रको अलमल, अन्तर संघर्ष, व्यक्तिवादी चरित्रले गर्दा संस्थागत निर्णय गरेर के गर्ने कता जाने बाटो तय गर्न चुकिरहेछ । कर्मकाण्ड गर्दैछ, विधिवतरुपमा कर्म गर्न सकिरहेको छैन । आफ्नो सुगन्ध पहिलाउन नसक्ने मृग झैँ भौतारिएको छ कांग्रेस । कांग्रेस आज जसको नेतृत्वमा छ त्यो नेतृत्वको आन्तरिक प्रतिस्पर्धी पनि कांग्रेसलाई गति दिने र सामर्थ्य दिन सक्ने देखिएको छैन तसर्थ कांग्रेस जे हुनु पर्ने र आज जहाँ पुग्नु पर्ने हो त्यहाँ पुग्न सकिरहेको छैन यो मुलुककै बिडम्बना भएको छ । कांग्रेस अझै प्रजातान्त्रिक समाजवाद त भन्छ तर ब्यबहारमा प्रजातान्त्रिक परिपाटी लिक आउट हुँदा आफूले दृढता पूर्वक जे गर्नुपर्ने हो त्यो गर्न सकेको छैन ।

लामो प्रजातान्त्रिक निष्ठा अहिले विचलनमा परेको देखिन्छ । तर कांग्रेस कता जाने र कुन स्टेप लिने दुविधामा देखिन्छ । कम्युनिस्ट पार्टीको काम भन्दा कुरा ठुला देखेका जनता अब पुन कांग्रेसको नेतृत्वमा गएको हेर्न बाध्य छन् किनकि नेकपाको विकल्प सरकार बनाउने ल्याकत राख्ने पार्टी कांग्रेस मात्रै हो त्यसैले मन परे पनि मन नपरे पनि जनताको रोजाई फेरि पनि कांग्रेस नै हो भन्न हिच्किचाउनु पर्ने स्थिति छैन । जनताको मजबुरीको विकल्प हुन् कांग्रेस कम्युनिस्ट । देश हाक्ने रास्ट्रको नेतृत्व लिने गरि कुनै पनि दल उदाउन नसकेको कारण कांग्रेस कम्युनिस्टलाई आलोपालो सरकार चलाउने चिठा परिरहन्छ यो क्रमले ३० बर्षको फेरो मारेको छ । कांग्रेस कम्युनिस्ट भन्दा अर्को शक्ति र दल रास्ट्रिय पार्टी र चुनाव जित्ने बुताको कहिल्यै बनेनन् । जसको फलस्वरूप जनतालाई दुईमा एक रोज्ने भन्दा उत्तम र भरपर्दो विकल्प छैन ।

नेकपामा फुट र बिभाजनपछि जनताको आशाको नजर कांग्रेसमा गएको छ । कांग्रेस अकर्मण्यतामा फसेको छ ओलीको कदममा बोल्ड डिसिजन गरेर निस्कन सकेको छैन यद्दपि अबको सत्ता कांग्रेसको हातमा जान्छ भनेर आम नेपाली मानसिकता कांग्रेस तर्फ स्विङ् भएको छ । देशब्यापी कांग्रेस प्रवेशको लहर हेर्दा कांग्रेस चुनाव मज्जाले र छिटै जित्दैछ भन्ने भान हुन्छ । जनताको कांग्रेस प्रवेश र नेकपा छोड्नेको ताँती देख्दा देशले नयाँ फड्को मार्ने र मोड लिने देखिन्छ भने कांग्रेसको सुस्तता ढिलासुस्ती र बेढंगीपनले देशको नेतृत्व अर्को पटक पनि नालायकहरुकै हातमा जान लागेको त होइन भन्ने संशय पैदा हुन्छ । कांग्रेसको नयाँ पुस्ता नर्सरी भनेको विद्यार्थी फाँट अर्थात नेविसंघ जहाँ आकर्षण हैन विकर्षण मात्र छ तव यति भाड भैलो गर्ने संगठन मार्फत आफ्नो भविष्य सुरिक्षित देख्ने आजको पुस्ता होला र रु सडे गलेका र डेट एक्सपायार्ड विजन रोपेर , नर्सरी भरी भाइरस हालेर कांग्रेसले कस्तो सुरक्षित भविष्यको कल्पना गर्दैछ रु कांग्रेसका लेटेस्ट एन्टी भाइरस राखेर पुरै फाइल क्लिन गरेर नयां नयां प्रोग्र्यामिंग बिना नेविसंघ र कांग्रेस रि स्टल गर्नुको विकल्पमा कांग्रेसको राजनैतिक वैधानिक समाप्ति नबनोस ।

कारखाना गतिलो भएन भने उत्पादन राम्रो हुन्न कमशल उत्पादन लिएर गयो भने बजार पाउन गाह्रो हुन्छ भन्ने कुराको धेरै जानकार विज्ञ अर्थशास्त्रीहरू किन उदाश,निराश र खिन्न छन् रु कांग्रेसले जसलाई आज हतार हतार भित्रयाउदै छ तिनलाई दिने बौद्दिक, बैचारिक र सैद्दान्तिक खुराक बिना कांग्रेसमा भिड त जम्मा होला चुनाव पनि जित्ला तर प्रजातान्त्रिक समाजवादको लक्ष्य भेट्टाउन मुश्किल पर्ने छ । नेतृत्व गर्ने नेताको नैतिकतामा पनि पार्टीको भाग्य भविष्य र कर्म जोडिएको हुन्छ । कांग्रेसमा अहिले यतिधेरै भाग्यवादमा विश्वास गर्ने र हात भरी औंठी लगाएर ज्योतिषको शरणमा नित्य जाने र आफ्नो भाग्य हेराउने नेता देउवा छन् जसको कारण कांग्रेसको भविष्य जनता ,नेता ,कार्यकर्ता , समर्थक र सुभेच्छूक हुनुपर्नेमा ज्योतिषको भविष्यवाणी र कालीबाबाहरुको जन्तरमन्तर छ त्यसैले कांग्रेसको हविगत खस्कँदो र निरन्तर ह्रासोन्मुख देखिन्छ ।

तर पनि कांग्रेस प्रवेशको देशव्यापी लहर भने रहर लाग्दो र लोभ लाग्दो छ । राजालाई प्रजातन्त्र बुझाएको बात खेपेका देउवा कम्युनिस्ट मार्फत प्रजातन्त्र सिद्दिएको साक्षी बसेका देखिन्छन् जुन कांग्रेस जस्तो प्रजातन्त्रप्रति अटुट आस्था राख्ने पार्टीको लागि दुर्भाग्यपूर्ण स्थिति हो । सत्तासँग मिलिभगत गरेर थोरै लाभको लागि धेरै गुमाएको आरोप आज पर्यन्त लागिरहनु कांग्रेसको लागि बिडम्बनापूर्ण स्थिति छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here