हेटौंडा–प्रदेशको समग्र विकासको योजना तथा नीति निर्माणको लागि सातै प्रदेशमा स्थापना भएका प्रादेशिक योजना आयोगहरुले उद्देश्यअनुरुप काम गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरिएको छ । प्रादेशिक तहमा रहेका आयोग र राष्ट्रिय योजना आयोगबीचको समन्वय अभाव, योजना छनौटमा मापदण्डबिहीनता र बनेका नीतिहरुको कार्यान्वयनमा सम्बन्धित सरकारको उदासिनताको कारण कठिनाई भोग्नु परिरहेको आयोगका पदाधिकारीहरुको भनाइ रहेको छ ।

आइतबार सातै प्रदेशका प्रादेशिक योजना आयोगका पदाधिकारी र राष्ट्रिय योजना आयोगका पदाधिकारीबीच हेटौंडामा भएको बैठकमा सहभागीले तीन तहका योजनाकाबीच समन्वय गर्ने संयन्त्र नहुँदा काम गर्न असहज भइरहेको बताएका हुन् । प्रादेशिक योजना आयोगले बनाएको नीतिलाई प्रदेश सरकारले प्रभावकारी कार्यान्वयन नगरेको पनि गुनासो गरिएको छ । योजना बैंकको स्थापनाको अवधारणा ल्याइए पनि बजेट निर्माणमा त्यसलाई बेवास्ता गरिएको प्रादेशिक आयोगका पदाधिकारीको भनाइ छ ।

सुदुरपश्चिम प्रदेशबाहेक अन्य ६ वटै प्रदेशले आवधिक योजनासमेत बनाएर काम अघि बढाइसकेका छन् । सुदुरपश्चिम प्रदेशमा भने दुई महिनाअघि मात्रै आयोग स्थापना भएको छ । आवधिक योजनाको कार्यान्वयनमा संघ प्रदेश र स्थानीय सरकारले ध्यान केन्द्रित नगरेको भन्दै योजना एकातिर र बजेट अर्कोतिर हुँदा दीगो विकासमा बाधा उत्पन्न हुने चिन्ता व्यक्त गरे ।

प्रदेश नम्बर १ का नीति तथा योजना आयोगका उपाध्यक्ष सुबोध प्याकुरेलले योजना बैंकको प्रभावकारी कार्यान्वयनको लागि केन्द्रीय तहबाटै कानुन निर्माण गरिनुपर्ने धारणा राखे । कर्मचारी र कानुनको अभाव, बनेका योजनाहरुको कार्यान्वयनमा उदासिनता जस्ता कारण प्रादेशिक योजना आयोग अलमलको अवस्थामा रहेको उनले सुनाए । सबै प्रदेशमा सामाजिक विकासको सूचकको एकरुपता कायम गरी राष्ट्रिय योजना आयोगले नीति बनाउनुपर्ने उनले सुझाव दिए ।

प्रदेश नम्बर २ को योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द झाले योजनाको कार्यान्वयन पक्ष कमजोर भएको भन्दै आवधिक योजनामा निर्धारण गरिएका लक्ष्य पूरा गर्न कठिनाई हुने बताए । योजना र बजेटको पक्षलाई तालमेल नमिलाएसम्म अपेक्षित प्रगति नहुने दावी गरे । गण्डकी प्रदेशको योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले प्रदेश नीति तथा योजना आयोगलाई संघीय सरकारले पहिचान नगर्नु नै मुख्य समस्या भएको बताए । संघीय मन्त्रालयले प्रदेशका अधिकारमाथि हस्तक्षेप गरिरहेको पनि उनको आरोप थियो । योजना निर्माण तथा कार्यान्वयनमा तीनै तहको सरकारको समन्वय हुनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए ।

लुम्बिनी प्रदेशको आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले तीन तहको सरकारबीच समन्वय नहुँदा आयोजनाहरुको लगानीमा दोहोरोपना भएको बताए । कार्यक्रमहरुको अनुगमन तथा प्रभाव मूल्यांकन गर्नको लागि प्रदेशमा प्राविधिक तथा प्रशासनिक जनशक्ति पनि अर्को समस्याको रुपमा रहेको उनको भनाइ थियो । कर्णाली प्रदेशका आयोगका सचिव दिव्यराज पोखरेलले राजनीतिक दबाब र प्रभावमा परी योजना छनौट गर्नुपर्ने बाध्यता रहेको भन्दै आयोगको लक्ष्य र उद्देश्यअनुरुप काम गर्न नपाइएको गुनासो गरे । प्रयाप्त अध्ययन नभई योजना छनौट गर्दा कार्यान्वयनमा समस्या हुने गरेको उनले बताए ।

बागमती प्रदेशको नीति तथा योजना आयोगका निमित्त उपाध्यक्ष श्याम बस्नेतले आवधिक योजना र दीगो विकासको मार्गचित्रलाई स्थानीय तहमा आन्तरिकीकरण गर्न नसकिएको बताए । स्थानीय तहमा पनि आवधिक योजना बनाउन सहयोग र समन्वय गर्नुपर्ने सुझाव दिँदै बस्नेतले संघ र प्रदेशले सशर्त र समपुरक योजना दिँदा आवधिक योजनाअनुरुपका आयोजना छनौट गरिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले पनि तीनै तहको सरकारबीच समन्वय गर्ने संयन्त्र नहुँदा समस्या भइरहेको स्पष्ट पारे । केही समयअघि मात्र विकास समस्या समाधान समितिले तहगत रुपमा छलफल गर्न संरचना बनाउने निर्णय गरेको बताउँदै योजना बनाउँदा अब छिट्टै तीनै तहबीच समन्वय गर्ने संयन्त्र बन्ने विश्वास व्यक्त गरे । प्रदेशको आर्थिक मामिला मन्त्रालय र प्रादेशिक योजना आयोगको जिम्मेवारीमा दोहोरोपन देखिएको भन्दै उनले त्यस्तो समस्या नीतिगत रुपमा हल गर्नुपर्ने पनि औंल्याए । योजना बैंक स्थापना गर्ने निर्णय दुइवर्षअघि भएता पनि कार्यान्वयन हुन नसक्नु दुखद भएको भन्दै आगामी वर्षबाट कार्यान्वयन गर्न प्रयास गरिने कँडेलको भनाइ थियो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेश सरकारले उत्कृष्ट काम गरिरहेको भन्दै त्यसको परिणाम आउने बेला हुन लागेको बताए । सातै प्रदेशका प्रादेशिक आयोग र राष्ट्रिय योजना आयोगबीचको छलफलबाट आगामी कार्यदिशा के हुने भन्नेबारे घोषणापत्र जारी गरिने बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डुराज घिमिरेले बताए । घोषणापत्र आज सोमबार सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । कारोबार दैनिकमा समाचार छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here