हेटौंडा–नेपालको संविधान २०७२ को धारा २३२ मा संघ, प्रदेश र स्थानीय सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा सम्बन्ध स्थापित हुने व्यवस्थाको प्रतिकुल हुनेगरी सुरक्षा निकायले गरेको गैरजिम्मेवारीपनको परिणाम स्थानीय सरकारले भोग्नुपरेको छ । नेपाल प्रहरीले गरेको असमझदार भूमिकाकै कारण मुलुककै एक अधिकार सम्पन्न स्थानीय सरकारले न्यायको लागि गुहार माग्नुपर्ने अवस्था सिर्जना भएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ का निर्वाचित वडाध्यक्ष कान्छाराम रुम्बा शनिबार रातिदेखि कुनै स्पष्ट कारणबिनै प्रहरीको हिरासतमा बस्न बाध्य छन् । त्यो पनि शंकाष्पद भूमिकामा केही गैरप्रहरी युवाहरुको साथमा लुटपाटमा पुगेको टोलीलाई सहयोग नगरेको आरोपमा । प्रहरीको बा १ ग २०९० नम्बरको सवारीसँगै गएको ग १ च ६५९७ नम्बरको निजी गाडी कसको र किन गएको भन्नेबारे प्रहरी बोल्न चाहँदैन । जून गाडीमा गएका प्रहरी र गैरप्रहरीले अवैध लागूऔषध गाँजाको खोजतलास गर्ने नाममा राक्सिराङ गाउँपालिका–१ मा शनिबार राती ९ बजेदेखि लुटपाटको शृङ्खला सुरु गरेको थियो ।

प्रहरी र गैरप्रहरीको टोलीले गाउँमा गाँजा मात्रै खोजेनन् प्रत्येक घरमा छापा मारेर गाउँका घर र पसलबाट बियरका कार्टुन, डिउका बोतल र नगदसमेत सोहोरेर फरार हुन खोजे । त्यस्तो लुटपाटको विरुद्ध स्थानीयबासी एकजुट भएर प्रतिकारमा उत्रिए । तब वडाध्यक्ष कान्छाराम रुम्बासमेत घटनास्थलमा आइपुगे । तर, प्रहरी प्रशासनको बन्दुक र बलको अघि कसैको केही लागेन । वडाध्यक्ष रुम्बालाई आफूहरुको काममा अवरोध गरेको आरोपमा प्रहरीेले नियन्त्रणमा लिई राति नै जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा ल्यायो । प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप उनीमाथि लगाई मुद्दा चालाइएको छ ।

गाउँबासीले मध्येरातमा रुवाबासी गरेर फोन गरेपछि मात्रै स्थानीय सरकार प्रमुख राजकुमार मल्लले घटनाबारे जानकारी पाए । उनले जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीमा तत्काल फोन गरी जानकारी लिने प्रयास गरे । तर, प्रहरी निकायले राक्सिराङ १ मा प्रहरी परिचालन गरेकोबारे कुनै सूचना दिएन । स्थानीयले प्रहरी र प्रहरीसँगै आएको अपरिचित मानिसहरुविरुद्ध रातभर झडप गरे । गाउँपालिका अध्यक्ष मल्ल भने गाउँबासीले गरेको टेलिफोनको अडियो सुनेको भरमा त्यो घटनाको साक्षी बन्न बाध्य भए । आइतबार अध्यक्ष मल्लले प्रमुख जिल्ला अधिकारी र मकवानपुरका प्रहरी उपरीक्षकसँग भेटघाट गरी वडाध्यक्षलाई पक्राउ गरेकोबारे जवाफ लिने प्रयास गरे । तर, प्रशासनबाट कुनै स्पष्ट जवाफ भने पाउन सकेनन् । बरु वडाध्यक्ष रुम्बाविरुद्ध प्रहरीमाथि अभद्र व्यवहार गरेको मुद्दा दर्ता गर्दै म्याद थप गरिएको खबर पाए ।

गाउँपालिका अध्यक्षले दिनभरको दौडधुपपछि पनि घटनाबारे न त प्रहरीबाट स्पष्ट जवाफ पाए न त वडाध्यक्ष नै रिहाई भए । गाउँ सरकारको प्रमुखको हैसियतमा अध्यक्ष मल्लले एक विज्ञप्ति जारी गर्दै स्थानीय सरकारसँग सहकार्य र समन्वय नगरी वडाध्यक्षलाई दूव्र्यवहार गर्दै नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाए । वडाध्यक्षप्रति अमानवीय व्यवहार भएको भन्दै मल्लले घटनाबाट सिर्जित हुनसक्ने जस्तोसुकै परिस्थितिप्रति सम्बन्धित निकाय नै जिम्मेवार हुने विज्ञप्तिमा उल्ल्लेख गरेका छन् ।

राक्सिराङ गाउँपालिका–१ स्थित घ्याङ्सिङटार पारी भित्तामा गाँजा बरामद गर्न भन्दै शनिबार राति प्रहरी र केही गैरप्रहरी युवाहरु पुगेका थिए । उनीहरुले खानतलासीको नाममा स्थानीयको पसलमा रहेका बियर, डिउका कार्टुन र अन्य सामाग्रीसमेत लुटेको स्थानीयको आरोप छ । घटनास्थलबाट प्राप्त फोटो र भिडियोबाट उक्त आरोपको पुष्टी हुने आधार निर्माण भएको छ ।
हेर्नुहोस् घटनास्थलबाट प्राप्त भिडियो र फोटो

प्रहरीको व्यवहारबाट स्थानीयको यस्तो आक्रोश भिडियो


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here