केटाकेटीलाई किताब नै किन ?

छवि अनित्य

मेरी छोरी सानी छिन् । ६ वर्ष पूरा गर्दैछिन् । दिनभरी म आफ्नै व्यस्ततामा हुन्छु । उनी स्कुल जान्छिन् । वास्तवमै भन्नुपर्दा अघिल्लो वर्षसम्म हामी बाबु–छोरीका बीचमा खासै सम्वाद हुन्थेन । बिदाका दिनहरुमा पनि प्रायः म विभिन्न कार्यक्रमहरुमै रमाइरहेको हुन्थेँ । साँझ अलि चाँडै घर पुग्दामात्र उनीसँग केही कुरा हुन्थ्यो । उसो त ११ वर्ष पार गरेको छोरोसँगको सम्बन्ध पनि उस्तै हो ।
एक वर्षअघि मैले जागिर छोडेँ । घरपरिवारसँगको घुलमिल अलि बाक्लियो । तर त्यो पर्याप्त थिएन । अझ केटाकेटीसँग कुरा मिल्नु निकै गाह्रो थियो ।

पछिल्लो समय एकखाले अभियानमा लागेँ । दसवटा जति विद्यालयमा पुस्तक प्रदर्शनी सञ्चालन गरेँ । यसबीचमा घरभरी किताबको माहौल बन्यो । अझ हेटौंडामा सम्पन्न औद्योगिक व्यापार महोत्सवमा किताबको स्टल सन्चालन गरेपछि यसले व्यापक रुप लियो । घरका केटाकेटीलाई यसको प्रभाव नपर्ने कुरै भएन । छोरीले एकदिन बीसवटाजति बालसाहित्यका किताब उठाएर ‘म पढ्ने’ भन्दै घर ल्याइन् । पढ्न त के सक्थिन् र ! मुस्किलले सावाँ अक्षर फुटाउँछिन् । तर यसले अत्यन्तै राम्रो काम ग¥यो ।

हरेक साँझ खाना खाएर सुत्ने बेला उनी एउटा किताब लिएर मकहाँ आउँछिन् । म उनलाई एउटा कथा पढेर सुनाउँछु । कथा सुनिसकेपछि बल्ल उनी सुत्न जान्छिन् । कथा पढ्दैगर्दा ती किताबका शब्द र तिनको भावसँगै म धेरैपटक बाल्यकालमा पुग्नुपर्छ । कथाका पात्रहरु र घटनाक्रमसँगै मैले आफूलाई ढाल्नुपर्ने हुन्छ । यो सब गरिरहँदा म आफैँ एउटा कलाकारजस्तो भैदिन्छु । छोरी यो सब हेर्दै र सुन्दै गर्दा मख्ख पर्छिन् । यतिबेला कथाले कथामात्र सुनाउँदैन, छोरीलाई उसको बाबासँगको आत्मीयता पनि बोध गराउँछ । कथाका प्रत्येक घटना र संवादलाई बाबाको मुखबाट सुन्दै गर्दा उनले गर्ने अनुभूति पक्कै फरक हुन्छ ।

मैले धेरैपटक अनुभव गरेको छु कि कथाका शब्दहरुसँग बालबालिका बगिरहेका हुन्छन् । कथाका पात्रहरु कसरी बोलिरहेका छन् ? यसले बालबालिकालाई ‘म पनि यसैगरी बोल्नुपर्छ’ वा ‘मैले यसरी चाहिँ बोल्नुहुँदैन’ भन्ने बोध गराउँछ । प्रत्येक कथासँग उनीहरुले आठ–दसवटा नयाँ शब्दहरु र तिनको प्रयोगको बारेमा सिकिरहेका हुन्छन् । कतिपय अवस्थामा उनीहरु ‘यस्तो किन वा कसरी भयो ?’ भनेर प्रश्न गरिरहेका हुन्छन् । यी प्रश्नलाई सीमित गरिनु हुँदैन । बरु अझ बढी प्रश्न कसरी आउन सक्छ भन्नेतिर अभिभावकले ध्यान दिनुपर्छ । जति धेरै प्रश्नहरु आउँछन्, उति नै बालबालिकामा अन्तरक्रियात्मक सीपको विकास भैरहेको हुन्छ । यसले उनीहरुलाई भोलिको समाजमा घुलमिल भएर बाँच्न सिकाइरहेको हुन्छ ।

कतिपय अभिभावकले यसलाई झन्झटिलो मान्नुहुन्छ । ‘सुत्ने बेलामा केको कथा सुनाइराख्नु ?’ भन्ने पनि लाग्न सक्छ । याद गर्नुस् त, सामान्यतः तपाईँका बालबालिकाले सुत्नुअघि के गर्छन् ? या त टेलिभिजन वा मोबाइमा भिडियो हेर्ने या डिजिटल गेम खेल्ने । यसो गर्दाको एउटा सबैभन्दा ठूलो खतरा भनेको बालबालिका नियमित समयमा निदाउँदैनन् । उनीहरुलाई स्क्रिनको लत यसरी बसेको हुन्छ कि आधारातसम्म पनि ननिदाइ हेरिरहन सक्छन् । किताब पढ्दा वा तपाईँले बालबालिकालाई कथा, कविता पढेर सुनाउँदा त्यस्तो हुँदैन ।

बालबालिका आफैँले पढ्न सक्छन् भने त झनै राम्रो भैहाल्यो । सक्दैनन् भने पनि तपाईँले उनीहरुका लागि कथा पढ्दै गर्दा त्यसले समयमा निदाउन मद्दत गर्छ । विशेषगरी बालबालिकाका लागि लेखिने कथा भनेका परीका कथा वा दन्त्यकथाहरु हुन्छन् । यसबाहेक अन्य बालसाहित्यका किताबमा पनि बढीभन्दा बढी काल्पनिकता प्रयोग गरिएको हुन्छ । यसले बालबालिकाको कल्पनाशक्तिलाई तेजिलो बनाउँछ । यसका साथै अभिभावकले एउटा लयमा कथा वाचन गर्दैगर्दा कथाका पात्रहरुसँगै भएको कल्पना गर्दागर्दै बालबालिका सजिलै निदाउन सक्छन् । सम्भवतः सपनामा पनि उनीहरु कथाकै पात्रहरुसँगै कतै हराइरहेका हुन्छन् ।

बालबालिकाका लागि कथा पढ्दै गर्दा अभिभावकले ठूलो स्वरमा सकेसम्म स्पष्ट र शुद्ध उच्चारण गर्ने प्रयास गर्नुपर्छ । तपाईँले जस्तो उच्चारण गर्नुहुन्छ, बालबालिकाले त्यस्तै सिक्ने भएकाले पनि यो जरुरी छ । कथा वाचनको बीचबीचमा बालबालिकाले विभिन्न प्रश्न गर्न सक्छन् । त्यस्ता प्रश्नहरुको जवाफ खुसीसाथ दिनुपर्छ । कुनै नौलो वा जटिल शब्दहरु प्रयोग भएका छन् भने त्यसको बारेमा बुझाउनुपर्छ । यसो गर्दा बालबालिकाको भाषिक सीपको विकास त हुन्छ नै यसका साथै उनीहरुको संवेगात्मक विकासमा पनि कथा वाचनले महत्वपूर्ण भूमिका खेल्छ ।

यसको प्रत्यक्ष प्रभाव बालबालिको शैक्षिक अवस्थामा पनि पर्छ । नियमित कथा पढ्ने वा सुन्ने बालबालिकाले खासगरी व्यवहारिक जटिलतालाई अन्य विद्यार्थीको तुलनामा छिटो र प्रभावकारी ढंगले हल गर्न सक्दछन् । कुनै पनि कथा सुनेर बालबालिकाले कथाको खलपात्रजस्तो बन्ने चाहना गर्दैन । उनीहरु आफूलाई कथाको नायकको भूमिकामा देख्छन् र व्यवहारतः त्यस्तै बन्ने प्रयासमा लागिरहेका हुन्छन् ।

बालबालिकाको सामाजिक भूमिकामा समेत कथा यस अर्थमा प्रभावकारी हुने देखिएको छ । घरपरिवार, छरछिमेक र समुदायमा आफ्नो भूमिका के हुने र त्यसलाई कसरी बहन गर्ने भन्नेमा उनीहरु सानैदेखि सचेत देखिन्छन् । यसरी हेर्दा बालबालिकाका लागि जीवनोपयोगी सीप विकास गर्ने सबैभन्दा राम्रो माध्यम बालसाहित्य हो भन्ने सकिन्छ । किताबका माध्यमबाट प्राप्त हुने यी ज्ञानले बालबालिकालाई भोलिको भविष्यको लागि आजैदेखि तयारी अवस्थामा राख्दछ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...