आत्महत्या रोकथाम सम्भव छ

सुनिरा लामा

एकाबिहानै छिमेकी ठुलोबुवाले सुनाउनुभयो ‘पल्लो गाउँको रामकाजीको छोराले आत्महत्या गरेछ ।’ त्यो सुन्दा म अक्क न बक्क भएर कुरा सुनिरहेको थिएँ । ठुलोबुवा थप्दै हुनुहुन्थ्यो–‘काठमाण्डौमा राम्रो बिषय लिएर पढ्दै थियो । छोरोलाई पढाउन भनेर हेटौंडाको १ कठ्ठा जमिन पनि बेचेको थियो । घरबाट पैसा भने जति पठाएकै थियो । हिजो दिनभर साथीहरुसँग पिकनिक गएको रे, बिहान उठ्दा डोरीको पासो लगाएर झुण्डेको रहेछ । छोराछोरीलाई सबै कुरा पु¥याउँदा पनि नहुने रहेछ ।’
उहाँको यस्ता कुरा सुन्दै जाँदा मेरो मनमा विभिन्न प्रश्नहरुका ज्वारभाटा अनगिन्ति रुपमा आउँदै थिए ।

त्यति कुराले मात्र पनि ठुलोबुवा थामिनु भएन । विगतमा आत्महत्या गरेको एउटा महिलाको उदाहरण दिँदै भन्न थाल्नुभयो– ‘२ पटक बचाउँदा पनि तेस्रो पटकमा आत्महत्या गरेरै छाडिछ । मर्छु भन्नी लाई कसैले रोक्न नसकिने रहेछ ।’ उहाँको यस कुराले मलाई आत्महत्याको बिषयमा धेरै कुराहरु सोच्न बाध्य बनायो । उहाँले आत्महत्याका अन्य घटना सुनाउँदै हुनुहुन्थ्यो तर म उहाँको कुरामा भन्दा आत्महत्या गर्छु भन्नेलाई रोक्न नसकिने रहेछ भन्ने कुरामा रोकिएको थियो ।
मेरो मनमा प्रश्न माथि प्रश्नहरुको छाल उठ्दै थिए । के आत्महत्या रोक्नै नसकिने हो त ? के सबै कुराले सम्पन्न ब्यक्तिले आत्म हत्या नै गर्दैनन् त ? आत्महत्याको बिषयमा हाम्रो चेतनाको स्तर कहाँ छ त ? यसलाई रोक्न के गर्नुपर्ने रहेछ ?

यस कुराले मलाई चूपचाप बस्न दिएन । म हरदिन यस बिषयको घनिभूत अध्ययन, बिषयबिज्ञहरुसँगको परामर्श र आत्महत्याको बिषयमा गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय तथ्याङ्कहरुलाई केलाउँदा यसको रोकथाम सम्भव रहेछ र यसको लागि धेरै ठूलो पहाड पनि फोर्न नपर्ने रहेछ । बिश्वको तथ्याङ्कलाई हेर्दा एउटा आत्महत्या सफल हुनुको पछाडि २० ओटा प्रयास हुने रहेछ । आत्महत्याको तथ्थाङ्क कहाली लाग्दो त छँदै छ त्यस तथ्याङ्ककमा ओझेलमा परेको २० वटा असफल प्रयासले त यसको जरो कति सम्म गाडिएको रहेछ भन्ने कुरालाई दर्शाउँदछ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा आ.ब ७३/७४ मा ५१२४ जनाले आत्महत्या गरेको कुरा देखिन्छ भने आ.ब ७७/७८ मा आउंदा यो सख्या बढेर ७११७ जनाले आत्महत्या गरेको देखिन्छ । बिश्व स्वास्थ्य संगठनको २०१६ को तथ्यांङ्कलाई हेर्दा विश्वभरको १५ देखि २९ बर्षका मानिसको मृत्यको दोस्रो ठुलो कारण आत्महत्या रहेको देखिन्छ ।

त्यस्तै विश्व स्वास्थ्य सगंठनले २०१४ को तथ्यांकलाई प्रक्षेपण गर्दा नेपाल आत्महत्याको सूचीमा ७ औं नम्बरको सूचीमा र महिलाको मात्र हेर्ने हो भने तेस्रो नम्बरको सूचीमा रहेको देखाउँछ । यसको कारणको बिषयमा हेर्दा ९५ प्रतिशत आत्महत्या मानसिक रोगको कारणले हुने गरेको तथ्याङ्कले देखाउँछ जसमा ८० प्रतिशत आत्महत्या डिप्रेसनको कारण, १० प्रतिशत गम्भीर किसिमका मानसिक समस्याका कारण र ५ प्रतिशत डिमेन्सियाको कारण आत्महत्या हुने गरेको तथ्यांकले देखाएको छ ।

बाँकी ५ प्रतिशत भने अन्य कारणहरुले हुने गरेको देखिन्छ । नेपालमा मात्र हेर्ने हो भने पनि आत्महत्या यूवाहरुमा मृत्यूको यउटा सामान्य कारणको रुपमा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २००९ को तथ्याङ्कलाई हेर्ने हो भने पनि प्रसुति अवस्थामा रहेका महिलाको मृत्यूको १६ प्रतिशत आत्महत्याको कारणले हुने गरेको पाइएको छ । नेपालमा आत्महत्याका घटनाहरु प्रहरीमा रिपोटिङ्क नहुने, लाल्छाना र भेदभावका कारण परिवारले यस्ता घटनाहरु लुकाउने परम्पराले गर्दा पनि आत्महत्याको तत्यांङ्क प्रस्तुत गरिएको भन्दा बढी हुने कुरा सहजै प्रक्षेपण गर्न सकिन्छ ।

Demographic Factor लाई हेर्दा युवा युवतीहरु, बयस्क, जेष्ठ नागरीक, सम्बन्ध बिच्छेद भएका, समाजवाट टाढै वा एक्लै बस्न चाहानेहरु र केही व्यवसायीहरुले यसको जोखिममा भएको देखिन्छ । Famliy and Biological factor लाई हेर्दा परिवारमा आत्महत्याको ईतिहांस भएका व्यक्ति, बाल्य अवस्थामा दुब्र्यबहार वा वेवास्ता गरिका ब्यक्तिहरु सेरोटोरीन हर्मोनको कमीको कारण पनि त्यस्तो जोखिम रहेको छ । त्यस्तै कडा र दीर्घरोग साथै छारेरोग भएका ब्यक्तिहरु पनि यस्को जोखिममा भएको देखिन्छ । त्यस्तै आशा बिहिनता, आवेगपन र समस्या समाधानको सीपको कमी जस्ता मनोवैज्ञानिक कारण साथै सामाजिक क्षति र बिखण्डन, कमजोर आर्थिक अवस्था, बाल्यकालको बिपत्ति, द्वन्द्व तथा आर्थिक समस्या जस्ता सामाजिक कारणले पनि आत्महत्यालाई बढावा दिइरहेको अवस्था छ ।

हाम्रो समाजमा अझै पनि आत्महत्यालाई मानसिक कारणले गर्दा हुन्छ भन्ने कुरालाई मान्न सकिराखेको छैन अझै पनि गरिबि, असफलता, बिछोड जस्ता कुरा नै आत्महत्याको प्रमुख कारणको रुपमा लिने गरेको पाइएको छ । त्यसो भए धनी ब्यक्तिहरुले आत्महत्या गरेका छैनन् त ? परीक्षामा असफलतालाई कारण बनाउने हो भने नेपालको शिक्षा प्रणालीमा अपबाद बाहेक झण्डै ४० प्रतिशत भन्दा बढी ब्यक्ति असफल हुन्छन् त्यसो त सबैले आत्महत्या गर्नुपर्ने त ? यस बाट हामी के निक्र्यौलमा पुग्न सक्छौं भन्दा आत्महत्याको पछाडि गम्भीर कारण हुन्छ र त्यो प्रत्यक्ष रुपमा मानसिक स्वास्थ्यसँग सम्बन्धित हुन्छ ।

अझै पनि हाम्रो समाजमा मानसिक स्वास्थ्यप्रति विभिन्न किसिमका भ्रमहरु बिद्यमान छन् । भनिन्छ दृढ संकल्प भएका व्यक्तिहरुलाई आत्महत्याबाट कसैगरी पनि बचाउन सकिन्न । तर यथार्थ के हो भने उचित ध्यान पु¥याएर उपचार तथा मनोविमर्श प्रदान गरेमा अधिकांश आत्महत्या रोक्न सकिन्छ । त्यस्तै व्यक्तिहरु विना संकेत आत्महत्या गर्दछन् । तर यो भ्रम हो बास्तबिकता के हो भने धेरैजसो आत्महत्याबाट मृत्यु भएका व्यक्तिहरुले आत्महत्याको कुरा गर्ने वा स्पष्ट संकेत गर्ने गर्दछन् । आत्महत्याका प्रयास गरेका व्यक्तिहरुको उद्धार भएपछि आत्महत्याको खतरा टर्दछ भनेको जुन सामाजिक धारणा छ त्यो गलत हो वास्तबिकता के हो भने समस्याको वास्तविक पहिचान तथा उपर्युक्त सहयोगको अभाव भएमा भविष्यमा पनि आत्महत्याको खतरा रहने गर्दछ ।

त्यस्तै अर्को गलत धारणा के छ भने आत्महत्याको कुरा गर्ने व्यक्तिहरुले आत्महत्या गर्दैनन् भन्छन् अझै स्थानीय चलनचत्तीको बाक्यमा भन्नुपर्दा ‘भुक्ने कुकुरले टोक्दैन’ भन्ने युक्ति छ वास्तबिकता के हो भने प्रत्येक १० जना मध्ये ८ जनाले आत्महत्या पूर्व आत्महत्याको आशयका बारेमा कुरा गर्ने गर्दछन् । यस्ता वैज्ञानिक तथ्याङ्कहरुलाई हेर्दा आत्महत्या त रोक्न सकिने रहेछ । आत्महत्या प्रतिको भ्रम र तथ्यलाई सबै तह र तप्का सम्म पु¥याएर चेतनाको स्तरलाई जगाउने गरी चेतनाका कार्यक्रमहरु बिद्यालय तथा समुदाय स्तरमा चलाउनुपर्ने खाँचो देखिएको छ । यसप्रति सचेत भएर मानसिक अस्पताल पाटनले शुल्क नलाग्ने फोन नं ११६६ मार्फत् सेवा प्रदा नगरिरहेको अवस्था छ साथै त्रिभूवन विश्व विश्वबिद्यालय शिक्षण अस्पताले पनि १६६००१२१६०० सम्पर्क नंबर मार्फत् सेवा प्रदान गरिरहेको छ । नेपाल सरकारले सम्बन्धित मातहतका निकायहरु मार्फत् सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथाम सम्बन्धी चेतना जगाउन निर्देशन दिएको अवस्था छ ।

मकवानपूर जिल्ला पनि आत्महत्याको जोखिमबाट अछुतो छैन भन्ने कुरा हामी सवैले स्विकारी सकेको अवस्था हो । यस कुरालाई मध्यनजर गरि प्रदेश, पलिकाहरु तथा वडाहरुले चालू आर्थिक बर्षमा आत्महत्या रोकथामकै बिषयमा भनेर बजेट बिनियोजन गरेको अवस्था छ । यस्ता बिनियोजित बजेटलाई प्रभावकारी रुपमा परिचालन गरी समुदायस्तर सम्म पु¥याउन सकेमा आत्महत्या रोकथाममा एउटा क्रान्तिकारी छलाङ्ग मार्न सक्ने कुरमा बिश्वस्त हुन सकिन्छ । फेरि पनि मैले मेरो ठुलो बुवाबाट अर्को आत्महत्याको घटना सुन्नु पर्ने दिन आउंदैन भन्ने आशा गरको छु ।
(लेखकः कोसिस संस्था मकवानपुरकी पैरवी अधिकृत हुन् ।)

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...