मकवानपुरको मनहरी गाउँपालिकाको सिम्पानीमा मिलन-धर्मराज स्मृति खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सिम्पानी युथ क्लवको आयोजनामा यहि असार २० गतेबाट मनहरी ८ सिम्पानीमा हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष किरण सुवेदीले जानकारी दिए । प्रतियोगिताको विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्ताले नगद ५ हजार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
गत २०७९ पुस २८ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सिम्पानी युथ क्लवका खेलाडीद्वय मिलन र धर्मराज मोक्तानको स्मृतिमा क्लवले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताका लागि करिब ७ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक प्रकाश लामाले बताए । प्रतियोगितामा सहभागिता जनाउन चाहने टिमले १८ गतेसम्म आयोजकलाई सम्पर्क गर्न सक्नेछन् । टिम दर्ता शुल्क ७ हजार ५ सय तोकिएको छ । प्रतियोगिताको लागि प्रथम र द्वितीय पुरस्कार मिलन-धर्मराजको परिवारले उपलब्ध गराउने भएको छ । मनोज मोक्तानले खेलका लागि डेढ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै खेललाई प्रत्येक वर्ष निरन्तरता दिन अनुरोध गरे । मनहरी गाउँपालिका खेलकुद विकास समितिका संयोजक बीरु लामाले प्रतियोगिताका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । यस फुटबल प्रतियोगिताका लागि मनहरी गाउँपालिकाले खेल सामग्री सहयोग गराउनेछ भने अन्य विभिन्न व्यक्ती तथा संघसंस्थालाई सहयोगका लागि अनुरोध गरिएको क्लवका राजेन्द्र मोक्तानले बताए । खेलमा करिब १६ टिमको सहभागिता हुने अपेक्षा राखिएको छ ।