अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालाी, दाङ, मोरङ, काठमाडौं र सर्लाही जिल्लाको विविभन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय मिलिग्रामसहित बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, दाङको घोराही उपमहानगरपालिका–१० खैराबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय १० मिलिग्रामसहित बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ जलौरा बस्ने २० वर्षीय आकाश बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यसतै, मोरङ, बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय ३० मिलिग्रामसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय कोलेन राई, २८ वर्षीय सोनाम तामाङ र सोही उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय अगम राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यता, काठमाडौंको काठमाडौं महानगरापालिका–१५ चमती डेरा गरी बस्ने १९ वर्षीय नबिन रिजालको कोठाबाट अवैध लागूऔषध गाँजाको धुलोसहित पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजाको धुलो करिब २ सय ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ७ सय ६५ ट्याब्लेट, ट्रामाडोल ५ सय ५० ट्याब्लेट, स्ट्रागन ३ सय ७० ट्याब्लेट, स्पास ३० ट्याब्लेट र नगद २९ हजार ७ सय रूपैयाँसहित उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले काठमाडौं महानगरपालिका–१५ चमती बस्ने २६ वर्षीय अनिष महर्जन समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, सर्लाहीको बागमती नगरपालिका–१२ बागमती पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेटसहित प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम तामाङ र १९ वर्षीय निशान दोङ रहेका छन् । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।