Search
Close this search box.

मकवानपुरमा ९ बजेसम्म मात्र देउसी भैलो

मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले राति ९ बजेपछि देउसी भैलो खेल्नमा रोक लगाएको छ । प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि देउँसी भैलोलगायतका साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न आग्रह गरेको हो ।

यसैगरी, प्रशासनले देउँसी–भैलो लगायतको साँस्कृतिक कार्यक्रम गर्दा अन्य व्यक्ति, छिमेकी, टोल, समुदाय र सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउनसमेत आग्रह गरेको छ ।

प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवम् बिक्री वितरणमा नगर्न आग्रह गरेको छ ।

जुवातास , लङुरगुजा खेल्ने खेलाउने जस्ता कानूनले निषेध गरेका क्रियाकलापहरू नगर्न, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी हो–हल्ला तथा झै–झगडा नगर्न पनि प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७९-०४-११ को नेपाल राजपत्र अनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएकोले सो कार्य नगर्नु, नगराउन अनुरोध गर्दै प्रचलित कानून विपरितका गतिविधि/क्रियाकलाप सञ्चालन गराइएको पाईए प्रचलित सम्बद्ध कानून बमोजिम कारबाही हुने व्यहोरा समेत उल्लेख गरिएको छ।

साथै प्रशासनले दिपावली एवम् छठ पर्वको अवसरमा सम्पूर्ण जिल्लाबासीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, उत्तरोत्तर प्रगती एवम् दीर्घायुको कामना गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan