मकवानपुर – तराई-मधेश द्रुतमार्ग (फास्टट्रयाक) अन्तर्गत् मकवानपुरको लेनडाडास्थित हाल ब्रिज (पुल) निर्माणाधीन अवस्थामा छ । नेपालको सर्वाधिक महत्वपूणर् पूर्वाधार परियोजनाको एक अंशका रुपमा हेरिएको मकवानपुरको मकवानपुगढी गाउँपालिका र बकैया गाउँपालिकामा पर्ने उक्त स्थानमा २ सय ७० मिटर लामो र नेपालको सबभन्दा अग्लो भुकम्पप्रतिरोधी पुल बन्दै गरेको लेनडाडा बेसक्याम्प प्रमुख सेनानी निरोज गौतमले जानकारी दिए ।
जितपुल खोलामा निर्माण भइरहेको उक्त पुल सम्पन्न हुँदा करिब ८१ मिटरसम्म उचार्इंको हुने प्रमुख सेनानी गौतमले बताए । उक्त पुल प्रिक्यान्टिलिभर तरिकाबाट निर्माण गरिरहेको उनले बताए । उनले भने-उक्त पुल हालसम्मको सबभन्दा अग्लो र लामो भएका कारण तलबाट फर्मा लगाउन सम्भव नभएको र लञ्चिङ गर्न पनि अप्ठ्यारो हुने भएकोले प्रिक्यान्टिलिभर विधिबाट निर्माण गरिरहेका छौं । उक्त तरिका कम मात्रामा प्रयोगमा आएको नयाँ प्रविधि हो ।
उनका अनुसार द्रुतमार्गको प्याकेज-३ अन्तर्गत् पर्ने सुरुङमार्ग (टनेल) को काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६ सय ३३ मिटर र निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६ सय १२ मिटर लामो सुरुङमार्ग क्रमशः असार र जेठमा छिचोलिसकिएको थियो । ती टनेलका सेकेण्डरी कामहरु भइरहेका छन् । राष्ट्रिय गौरवको आयोजनामा रहेको द्रुतमार्गको काम नेपाली सेनाको व्यवस्थापनमा भइरहेको हो । ७१ दशमलव ५ किलोमिटर लामो मार्गमा ८९ वटा ठूला पुल र ६ वटा सुरुङ निर्माण गर्ने योजना छ ।
तीमध्ये हाल ३ वटा सुरुङ र ५ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्यको निर्माण भइरहेको छ । द्रुतमार्गको भौतिक प्रगति चालु आर्थिक वर्ष २०८१/०८२ को त्रैमासिक अर्थात् असोजसम्म ३६ दशमलव ४२ प्रतिशत्मात्र छ । द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति ३८ दशमलव ५५ प्रतिशत् छ । यस सात वर्ष अवधिमा भएको नेपाली सेनाले सार्वजनिक गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
द्रुतमार्गअन्तर्गत् ६ वटा सुरुङमार्गको कुल लम्बाइ १० दशमलव ३ सय ९ किलोमिटर छ । नेपाल सरकारले फास्टट्रयाक निर्माणको व्यवस्थाको चुनौतिपूणर् कार्य २०७४ बैशाख ४ गतेबाट नेपाली सेनालाई सुम्पिएको थियो । नेपाल सरकारबाट निर्माण व्यवस्थाको जिम्मेवारी पाएलगत्तै नेपाली सेनाले २०७४ जेठ १४ गतेबाट निर्माण सुरु गरेको थियो । उक्त निर्माण कार्य तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बाराको निजगढमा शिलान्यास गरेका थिए ।