हेटौंडा– बितेको आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेशमा राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको पाइएको छ । राजस्व बाँडफाँडबाट हुने आम्दानीमा शत प्रतिशत लक्ष्य भेट्टाउन नसकेता पनि समग्रतामा ९१ दशमलव ५४ प्रतिशत प्रगति भएको देखिएको छ ।

दहत्तर बहत्तर बिक्रीबाट हुने आम्दानीबाट ४० प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने भएता पनि स्थानीय तहहरुले समयमै रकम दाखिला नगरिदिँदा राजस्व बाँडफाँडबाट हुने आम्दानीले शतप्रतिशत लक्ष्य हाँसिल गर्न नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । बितेको वर्ष दहत्तर बहत्तर बिक्रीबाट २ अर्ब ५ करोड रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएकोमा असार मसान्तसम्ममा ८८ करोड ५२ लाख रुपैयाँ अर्थात अनुमानको ४३ प्रतिशत रकम मात्र प्राप्त भएको देखिएको छ ।

राजस्व बाँडफाँडबाट प्राप्त हुने घरजग्गा रजिष्ट्रेशन दस्तुर र मूल्य अभिवृद्धि करमा शत प्रतिशतभन्दा माथि प्रगति भएता पनि अन्तशुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन करमा अपेक्षित प्रगति नभएको बागमती प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । बाँडफाँडबाट प्राप्त हुने सवारी साधन करबापत ५ अर्ब ५० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा असार मसान्तसम्ममा ४ अर्ब ९४ करोेड रुपैयाँ अर्थात ८९ दशमलव ९९ प्रतिशत संकलन भएको छ ।

कोरोना महामारीका कारण मनोरञ्जनको क्षेत्र पूर्णतया ठप्प हुँदा मनोरञ्जन कर लक्ष्यको ० दशमलव ६४ प्रतिशत मात्र संकलन भएको छ । १५ करोड रुपैयाँ मनोरञ्जन कर संकलन गर्ने लक्ष्य लिइएकोमा ९ लाख ६३ हजार रुपैयाँ मात्र प्राप्त भएको छ । त्यस्तै १५ करोड रुपैयाँ विज्ञापन कर संकलन गर्ने लक्ष्य लिइएकोमा ५ करोड १३ लाख रुपैयाँ अर्थात कुल अनुमानको ३४ दशमलव २२ प्रतिशत मात्र प्राप्त भएको लेखा अधिकृत पाण्डेले बताए । वन रोयल्टी, खानी तथा खनिजसम्बन्धी रोयल्टी र विद्युत रोयल्टीबात प्रदेश सरकारले झण्डै १३ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएकोमा कति पनि रकम प्राप्त भएन ।

संघीय सरकारबाट प्रदेशलाई प्राप्त हुने अनुमान गरिएको विभिन्न अनुदानको ९४ दशमलव ६५ प्रतिशत प्राप्त भएको जनाइएको छ । त्यस्तै प्रदेश सरकारको आफ्नो स्रोतबाट संकलन गर्ने राजस्वमा पनि समग्रमा अपेक्षाकृत प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको अनुदान फिर्ता र नगद मौज्दात अनुमान गरिएभन्दा बढी भएपछि प्रदेशको समग्र आम्दानीको प्रतिशतमा वृद्धि भएको देखिन्छ ।

गत वर्ष आन्तरिक स्रोत, राजस्व बाँडफाँड र संघीय अनुदानसहित कुल ५१ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएकोमा कुल ६० अर्ब १५ करोड रुपैयाँ प्राप्त भएको छ । जसमा अनुदान फिर्ता र नगद मौज्दातको हिस्ता झण्डै साढे १८ अर्ब रुपैयाँ रहेको छ । समग्रमा बागमती प्रदेशमा गत आर्थिक वर्षमा लक्ष्यभन्दा करिब एक सय १६ दशमलव ९७ प्रतिशत आम्दानी भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here