हेटौंडा–सबै नागरिकलाई कोरोनाविरुद्धको खोप र महामारीका कारण भोकसँग जुधिरहेका नागरिकलाई राहत प्रदान गर्नेसहितको एजेन्डासहित नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोधपत्र बुझाएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको नेतृत्वमा बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई अनुरोधपत्र बुझाएको हो ।

टोलीले प्रधानमन्त्री नियुक्त भई विश्वासको मतसमेत लिन सफल भएकोमा देउवालाई बधाई एवं शुभकामना ज्ञापन गर्दै आम नागरिकको समस्या समाधान गर्न ठेस रणनीति बनाउन अनुरोध गरेको हो । कोरोना संक्रमणका कारण देश नै आक्रान्त रहेकाले देशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्थाका लागि अनुरोध गर्दै यसको बढी जोखिममा बागमती प्रदेश रहेकाले कोरोनाको खोपबाट बन्चित र पहिलो डोज लगाइसकेका जनतालाई यथाशीघ्र खोपको व्यवस्था गर्न अनुरोध पत्रमा भनिएको छ ।

कोरोनाका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र खाद्यान्नको अभाव झेलिरहेका विपन्न वर्ग भोकसँग लडिरहेकाले रोगसँगै भोकसँग समेत लडिरहेका जनतालाई स्थानीय सरकारको वडा तहबाट खाद्यान्न उपलव्ध गराउनका लागि संघीय सरकारको पुरक बजेटमार्फत रकम उपलव्ध गराउन आग्रह गरिएको छ ।

बागमती प्रदेशका सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची लगायत विभिन्न जिल्लामा पछिल्लो समय गएका प्राकृतिक विपत्तिका कारण धनजनको क्षति भएको उल्लेख गर्दै विपदका कारण घरबारविहीन भएका जनतालाई तत्काल घरबारको व्यवस्था र उचित राहतको व्यवस्थाका लागि पत्र मार्फत् अनुरोध गरिएको छ ।

त्यस्तै पहिलो र दोस्रो चरणको कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भएको लकडाउन एवं निषेधाज्ञाका कारण साना, मझौला एवं ठूला व्यवसाय, उद्योग, कलकारखाना, कृषि क्षेत्र धरासायी भएकाले राष्ट्र बैंकले साउन १५ गते ल्याउने मौद्रिक नीतिमार्फत कोरोनाका कारण मारमा परेका उद्योग, व्यवसायको ऋण भुक्तानीलाई पुर्नतालिकिकरण, कोरोना अवधीको व्याज दरलाई न्यून दरमा भुक्तानीको व्यवस्था, निक्षेपको ब्याज र ऋणको ब्याज बीचको स्प्रेड दर घटाउने र व्याजको सिमा निर्धारण गर्ने जस्ता उपाय अवलम्बन, विशेष राहत प्याकेजको व्यवस्था गरि आर्थिक क्षेत्रलाई प्रोत्साहन गर्दै पार्टीप्रतिको नीजि क्षेत्रको विश्वास बढाउन विशेष ध्यान दिन अनुरोध गरिएको छ ।

संसदीय दलले दुई तिहाई मत दिंदा समेत कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा जनताको अपेक्षा पुरा गर्न नसकेको र कृषि प्रधान देशका कृषकले रासायनिक मल, बिउविजन, सिंचाईको समस्या झेलिरहनु परेको अवस्थामा कांग्रेस नेतृत्वको सरकारबाट यी क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा जनतामा रहेकाले यसतर्फ ध्यान दिन अनुरोध गरेको छ ।

प्रधानमन्त्री देउवाले जनताका कोरोनाविरुद्धको खोपदेखि सबै खाले अपेक्षा पूरा गर्न आफू नेतृत्वको सरकार ठोस रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here