हेटौंडा– घर बगाएर कठिन रुपमा जिवनयापन गरिरहेका बाढी पीडितहरुलाई एक कार्यक्रमका बिच आर्थिक सहयोग गरिएको छ । लाल तामाङले जापानबाट संकलन गरी पठाएको तीन लाख रुपैंया बाढी पीडित परिवार र तटबन्धन गर्न हस्तान्तरण गरिएको हो ।

लमजुङको दोर्दी गाउँपालिका ८, हिलेबजारमा असार १ गते आएको बाढीबाट घर विहिन १८ र आर्थिक अवस्था निक्कै कमजोर भएका एक गरी १९ परिवारलाई १० हजार रुपैंयाका दरले रकम वितरण गरिएको थियो । साथै वडा अध्यक्षको संयोजकत्वमा रहेको स्थानीय तटबन्धन व्यवस्थापन समितिका लागि सहयोग संकलक लाल तामाङकी श्रीमती कृष्णकुमारी तामाङले वडा सदस्य चन्द्रबहादुर गुरुङलाई नगद एक लाख रुपैंया हस्तान्तरण गरिन् ।

कार्यक्रममा दोर्दी गाउँपालिका ८ का वडा सदस्यहरु चन्द्रबहादुर गुरुङ, सुकबहादुर गुरुङ र यादमायाँ घले तथा हिलेबजार तामाङ समाजका अध्यक्ष बे बहादुर तामाङ, सहयोगी कृष्णकुमारी तामाङ लगायतले रकम हस्तान्तरण गरेका थिए । लाल तामाङको परिवारबाट एक लाख, लक्की आनबाट २० हजार, विष्णु पाण्डेबाट १२ हजारसहित २२ जनाले जापानबाट उक्त तीन लाख रकम पठाएका थिए ।

असार ३१ गते रातिको भीषण वर्षापछि आएको बाढीले हिलेबजारका १८ घर बगाएको छ । ४३ घर उच्च जोखिममा र ५३ घर जोखिममा परेको छ भने एउटा सामुदायिक भवन बगाएको छ । हिलेबजारमा कूल एक सय १४ घर रहेका छन् । दोर्दी खोलामा निर्माणाधिन झण्डै आधा दर्जन जलविद्युत आयोजना निर्माण गर्दा सावधानी नअपनाईएकोले बाढीले क्षति पु¥याएको स्थानीयवासीको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here