हेटौंडा–हेटौंडा–४ कर्राकी सुस्मिता थापा केसीको हत्या प्रकरणमा मुछिएका अभियुक्त अरुण कार्की अदालतमा हाजिर भएका छन् । सोमबार जिल्ला अदालत मकवानपुरमा हाजिर भएका ३४ वर्षीय कार्कीलाई मंगलबार भएको थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।

न्यायाधीश सीता अधिकारीको इजलासले कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए । सुस्मिताको हत्या २०७७ असार १ गते राति हेटौँडा–४, कर्रास्थित आफ्नै घरमा भएको थियो । कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको छ ।

सुरुमा आत्महत्या भनिए पनि सुस्मिताको परिवारकै संलग्नता हत्या भएको अनुसन्धानबाट खुलेपछि हत्या भएको करिब दुई हप्तापछि परिवारका सदस्यहरु पक्राउ परेका थिए । जिल्ला अदालत मकवानपुरका न्यायाधीश सिता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न यसअघि नै आदेश दिइसकेको छ ।

हत्यामा संलग्न भनिएका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । त्यसैगरी घटनाको मतियारको रुपमा सासु तुलसी कुमारी थापालाई १२ बर्ष जेल सजाय, अर्की नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दावीसहित २५ वर्ष कैद माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here