हेटौंडा– मकवानपुरको निर्यात व्यापार बर्सेनि खस्कँदो अवस्थामा रहेको छ । नेपालकै ठूला औद्योगिक सहरमध्येको एक हेटौंडाबाट भारतलगायत तेस्रो मुलुकमा हुने निर्यातमा एक दशकअघिको तुलनामा ८० प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

१२ वर्षअघि आव २०६५|/०६६ मा मकवानपुरका २८ वटा उद्योगले एक अर्ब २७ करोड १५ लाख रुपैयाँको सामाग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेकोमा आव २०७७/०७८ सम्म आइपुग्दा ३३ करोड १७ लाख ६६ हजार रुपैयाँमा खुम्चिन पुगेको छ । केही वर्षअघिदेखि मकवानपुरको निर्यात व्यापार बर्सेनि ओरालो लाग्दै आइरहेको छ । आर्थिक वर्ष २०७६ / ०७७ मा पनि जिल्लाका ५ वटा उद्योगले ३६ करोड ११ लाख ७३ हजार रुपैयाँको सामान मात्र निर्यात गरेका थिए । बितेको वर्ष ६ वटा उद्योगले आफ्ना उत्पादन अन्य देशमा निर्यात गरेता पनि अघिल्लो वर्षको तुलनामा करिब ३ करोडभन्दा बढीले गिरावट देखिएको छ ।

आर्थिक वर्ष ०७५/०७६ मा मकवानपुरको निर्यात व्यापार ३८ करोड ५० लाख रुपैयाँ रहेको थियो । ०७४/०७५ को तुलनामा भने बितेको वर्षको व्यापार सन्तोषजनक नै हो । आव ०७४/०७५ मा भने निर्यात अत्यन्तै खुम्चिएर २० करोड ७८ लाख २७ हजारमा झरेको थियो । आव ०७०/०७१ सम्म मकवानपुरबाट निर्यात ब्यापार गर्ने उद्योगको संख्या २२ रहेको मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख छ । आव ०७१/०७२ मा ४८ करोड ७७ लाख रुपैयाँको उत्पादन निर्यात भएकोमा आव ०७२/०७३ मा ३७ करोड ५ लाख रुपैयाँमा निर्यात व्यापार झरेको संघले जनाएको छ ।
आव ०७३/०७४ मा पनि ३५ करोडको सामान निर्यात भएको थियो । मकवानपुरमा भएका बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्नो उत्पादन नेपालमै सीमित गर्नु र धेरै उद्योगहरु बन्द हुनुका कारणले पनि मकवानपुरको निर्यात व्यापारमा कमी आएको उद्योग वाणिज्य संघको बुझाइ छ । बितेको आर्थिक वर्ष २०७७/०७८ मा सिएसआई नेपाल प्रालिले सबैभन्दा धेरै १९ करोड ८८ लाख ७२ हजार रुपैयाँको सामान निकासी गरेको छ ।

बहुराष्ट्रिय उद्योगहरुको पेय पदार्थको बिर्को उत्पादन गर्ने सिएसआईको व्यापार पनि अघिल्लो वर्षको तुलनामा करिब ५ करोड रुपैयाँले गिरावट आएको देखिन्छ । अघिल्लो आव २०७६/०७७ मा सिएसआईले २४ करोड ९२ लाख ८० हजार रुपैयाँको सामान निर्यात गरेको थियो । यसैगरी बितेको आवमा हिमालयन कत्था उद्योगले ९ करोड ३१ लाख ३२ हजार रुपैयाँको सामान भारत र बंगलादेशमा निर्यात गरेको छ । उक्त उद्योगको व्षपार पनि अघिल्लो वर्षको तुलनामा करिब सवा करोड रुपैयाँभन्दा बढीले गिरावट आएको तथ्यांकमा देखिएको छ ।

बितेको आवमा गोदावरी पोलिप्याक्स एण्ड फेबिकले पनि ३ करोड २३ लाख ४५ हजार रुपैयाँको प्लाष्टिकको बोरा निर्यात गर्न सफल भएको छ । त्यस्तै स्थानीय जडिबुटीको प्रयोग गरी क्यान्सरको औषधि उत्पादन गर्ने इभान्स लाईफ साइन्सेस प्रालिले पनि ५० लाख ४० हजार रुपैयाँको औषधि विदेश निर्यात गरेको छ । आव २०७५/७६ मा ३ करोड ७ लाख रुपैयाँको ट्रान्सफर्मर भुटान, वंगलादेशलगायतको मुलुकमा निकासी गरेको इकरात इन्जिनियरिङ कम्पनी प्रालिले पनि दुई आर्थिक वर्षयता निर्यात गर्न सकेको छैन । आव ०७५/७६ मा २९ लाखभन्दा बढी रुपैयाँको खरिढुङ्गा निकासी गरेको टेन माइक्रोन्स नेपाल प्रालिले पनि दुइवर्षयता निर्यात गर्न सकेको छैन ।

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल, कार्पेट उत्पादन गरी निर्यात गर्ने एमएम पोलिमर्सको निर्यात पनि शून्य नै रहेको छ । कोरोना महामारीले निर्यात व्यापारलाई निकै ठूलो प्रभाव पारेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको भनाइ छ । दशकअघि क्रसरजन्य उत्पादनहरु, जडिबुटी, अदुवा, लसुनहरु विदेशमा निर्यात हुने गरेकोमा सरकारी नीतिकै कारण सबै व्यापार ठप्प हुन पुगेको उनको भनाइ छ । निर्यातजन्य उद्योगहरुलाई सरकारले संरक्षण गर्न नसकेको कारण एक दशकको अवधिमा धेरै उद्योगहरु बन्द हुन पुगेको उनले बताए ।

बर्सेनि करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरु बन्द भइसकेका छन् । त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरु पनि केहीवर्षअघिदेखि अस्तित्वमा छैनन् । एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता वहुर्राष्ट्रिय उद्योगले पनि ७ वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केहीवर्षअघिदेखि भारत निकासी बन्द गरेको छ ।

मकवानपुरका उद्योगबाट उत्पादित वस्तुहरु थोरै मात्रामा भारतमा मात्र निर्यात हुने गरेको छ । भारतबाहेक केही नगन्य मात्रामा तेस्रो मुलुकमा व्यापार हुने गर्दछ । कच्चा पदार्थ आयातमा नीतिगत समस्या, उत्पादित बस्तु निकासीमा झन्झट, भ्याटका समस्यालगायतका कारण निर्यात व्यापार फस्टाउन नसकेको उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिए । निर्यात व्यापारलाई प्रोत्साहित गर्ने सरकारी नीति नभएका कारण उद्योगीहरु ट्रेडिङ व्यवसायतिर लाग्न बाध्य भएको पनि उनले बताए । हेटौंडा औद्योगिक क्षेत्रमा अहिले सयवटाभन्दा बढी उद्योग सञ्चालनमा छन् भने चार हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here