हेटौंडा- मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन मकवानपुरका कांग्रेस सांसदलगायतले खसी, खाद्यान्न र नगद सहयाेग गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, राक्सिराङ गाउँपालिका र नेपाली कांग्रेस मनहरी समितिकाे टाेलीले कारागार कार्यालयमै पुगी सहयाेग हस्तान्तरण गरेका हुन् ।

कारागारमा लागूओैषध गाँजा मुद्दामा राक्सिराङ गाउँपालिकाका मात्रै ४१ जना रहेकाले पालिकाले आफ्नै खर्चमा दशैंमा खाद्यान्न लगायतका सामग्री सहयाेग गरिएकाे गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । गाउँपालिकाका तर्फबाट एउटा खसी र चिउरा सहयाेग गरिएकाे थियाे । कारागारमा रहेकाहरुलाई प्रदेशसभा सदस्य बानियाँले व्यक्तिगत ६० हजार रुपैयाँ कारागारका चाैकिदार विजय गाेलेलाई हस्तान्तरण गरेका थिए ।

सामाजिक एवम् मानवीय भावनाको आधारमा कारागारमा रहेका कैदीबन्दीको दशैं सुखद बनाउन सहयोग गरेको बानियाँले बताए । दशैं सबैको पर्व भएको बताउँदै बानियाँले कारागारभित्रका कैदीबन्दीलाई प्राप्त सहयोगबाट उत्साहपूर्वक पर्व मनाउन उनले सुझाव दिए ।
जीउने आधार र विकल्प नभएर गाँजा खेती गर्नुपर्ने अवस्थाका व्यक्तिहरु जेलमा रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका बासिन्दाको केही व्यक्ति कारागारमा रहँदा दशैं खल्लो नहोस् भनेर केही राहत दिएको उनले बताए । कार्यक्रममा पालिका उपाध्यक्ष निर्मला हिम्डुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, नेताहरु रञ्जन कालाखेती, विदुर थापा लगायतको उपस्थिति रहेको थियो ।
भीमफेदी कारागारमा लागूऔषध मुद्दामा मकवानपुरको हेटौंडा उपमहानगरका ४४, राक्सिराङका ४१, कैलाशका १४, बकैयाका ३, भीमफेदीका ३, मनहरीका १६ र थाहानगरपालिकाका २ जना गरी १ सय २३ जनाले जेल जीवन बिताईरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here