– देवी कुवँर, पालुङ मकवानपुर

जिन्दगीका अनेकौं इच्छा र चाहनाहरुलाई
मनभित्रै दवाएर
एउटा कहिले पनि नसकिने
गन्तव्य विहीन यात्रा हिडिरहेछु
भोलिको आशामा

भोलि आउँछ कि आउँदैन
खुशी ल्याउँछ कि ल्याउदैन
देख्दै छु ,खुशी त आकाशमा कालो बादलसँगै लुुकेर
गिज्याईरहेछ — बर्षाको साउने झरी बनेर ।
बग्छ कहिले भेलबाढी बनेर
चल्छ कहिले आँधी तूफान बनेर
उर्लन्छ त कहिले नदि सागर बनेर
बस,
जिन्दगी त एउटा सपना रहेछ
नाटकको रङ्गमञ्च रहेछ
कहिल्यै नसकिने , पूरा कहिल्यै नहुने
जीवनको पाना पल्टाएर हेर्दा
खै कहाँ छन् ती बालापन
कहाँ छन ती आफन्त
खै कहाँ छन् सौहाद्रता
अनि कहाँ छन् विश्वासको अग्लो हिमाल
छन् त केवल आघातहरू छन् / पीडाहरु छन्
हो आफन्तले दिएका
अनगिन्ती चोटका आलो घाउहरू छन्

बिहानीको घामसँगै
उदाएका आशाका किरणहरु
लेक र बेसी गर्दागर्दै गलेका ती पाईलाहरु
अझै थाकेका छैनन्
ती निदाउरो आँखा र बेसाहारा खुट्टा
क्रमशः
अस्ताएका उषाकालालीसँगै बिलाएका ती सपनाहरु
सुस्केरा हाल्दै लोलाएका ती आखाँहरु
तैपनि झिनो इच्छा र आकाङ्क्षा समेटदै
खोजिरहेछु भोलिको खुशी यस मरूभूमिमा

र , पनि आशाको दियोमा
विश्वासको घाम कुरेर
सल्काउँदै छु उत्साहको आगो
हो हिडिरहेको छु जीवनको सगरमाथा
र , गाँउदैछु क्रान्तिको एउटा गीत ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here