हेटौंडा– कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीका सांसदको साथ पाएर बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रदेशसभाबाट बहुमत सांसदको साथ पाएका छन् ।

सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ भने विपक्षमा ४३ मत खसेको छ। प्रदेशसभामा १०९ जना सदस्यमध्ये बहुमत सांसदको साथ पाएपछि पाण्डेलाई मुख्यमन्त्रीको रुपमा निरन्तर काम गर्न संवैधानिक साथ जुटेको हो ।

सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले उनले विश्वासको मत पाएको घोषणा गरे । सोमबार प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा एमाले र विवेकशीलका गरी ४३ जना सांसदको मत परेको थियो । नेकपा एमालेका ४० र विवेकशील साझा पार्टीका ३ सांसदले विपक्षमा मत दिएका थिए । नेकपा एमालेका ३ सांसद मतदानमा अनुपस्थित रहे ।

मतविभाजन प्रक्रियामा दुई सांसद रहेको राप्रपा उपस्थित भएन भने दुई सांसद रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here