हेटौंडा–जिल्लामा सवारी दूर्घटनाका घटना वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुुरले दूर्घटना न्यूनीकरणको लागि चासो देखाएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा यातयात संचालक तथा सरोकारवाला निकायहरूको उपस्थितिमा बैठक बसी दूर्घटना न्यूनीकरणको लागि विभिन्न निर्णयहरु गरिएको छ ।

बैठकले मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने कार्यलाई नियमित र कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । मादकपदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई तत्काल कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । यस्तै बैठकले सडक दुर्घटना सम्भावित क्षेत्रहरूमा सडक बत्ति, ट्राफिक संकेत तथा चिन्हहरू लगायतका पूर्वाधार यथाशीघ्र स्थापना गर्ने, लामो दूरीका सवारी साधनहरूमा अनिवार्यरूपमा दुईजना सवारी चालक राख्ने, तिनतिन महिनामा कम्तिमा एकपटक सडक सचेतना एवं दुर्घटना न्यूनीकरण सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । भैसे–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडक खण्ड भई सञ्चालन हुने सुमोहरूको हकमा टाईम कार्ड लागू गर्ने निर्णय पनि गरिएको छ ।

हेटौंडा बजार क्षेत्रमा ई–रिक्सा र अटो मुख्य राजमार्ग तथा मुख्य सडकहरूमा प्रवेश नगरी सहायक सडकबाट मात्र थप व्यवस्थितरूपमा सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गर्न उपसमिति बनाइएको छ । सो सम्बन्धमा वस्तु स्थिति एवम् सम्भाव्यता अध्ययनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेको संयोजकत्वमा एक उप–समिति समेत गठन भएको हो ।

समितिले आवश्यक अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ । समिति सदस्यहरुमा हेटौडा उपमहानगरपालिका अधिकृत, यातायात व्यवस्था सेवा कार्यालय हेटौडाका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवापनुरका प्रहरी निरीक्षक प्रकाश पाण्डे, जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी निरीक्षक सुमन बानियाँ र नेपाल अटो ई–रिक्सा व्यवसायी संघ मकवानपुरका अध्यक्ष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here