हेटौंडा–डिभिजन वन कार्यालय मकवानपुरले वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागितामा बुधबार हेटौंडामा डिभिजन स्तरीय समन्वय बैंठक आयोजना गरेको छ ।
कार्यक्रममा सहायक वन अधिकृत राधिका शर्माले बैठकका उद्देश्यहरुबारे प्रष्ट पारेकी थिइन् भने अर्का सहायक वन अधिकृत नवराज थापाले जिल्लाको वन क्षेत्रसम्बन्धी विवरण, कार्यालयको वार्षिक स्वीकिृत कार्यक्रम तथा बजेटलगायतका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वन जंगललगायत प्राकृतिक स्रोतको संरक्षणमा सबैको साझा धारणा र सहभागिता जरुरी रहेको बताए । प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो । प्रकृति सबैको साझा भएकाले त्यसको पर्यावरण जोगाउने जिम्मेवारी पनि सबैको साझा हुने उनले बताए ।

कार्यक्रममा वन क्षेत्रमा भइरहेको असल अभ्यासको पहिचान गरी विस्तार गर्ने र कार्यक्रम कार्यान्वयन गर्दा आइपरेका समस्या÷चुनौतीहरु बारेमा छलफल गरिएको थियो । कार्यालय प्रमुख ईमनाथ पौड्यालले सहभागीबाट उठेका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि तथा जिल्ला वन क्षेत्र समन्वय समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here