हेटौंडा– नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल निर्विरोध चयन भएका छन् । सोमबारको अधिवेशन अन्तर्गत बकैया गाउँपालिकाका अध्यक्षसमेत रहेका खनाल निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् ।

यसअघि उम्मेदवारी घोषणा गरेका धर्मराज लामिछानेले उम्मेदवारी फिर्ता लिएपछि खनाल संघीय क्षेत्रको सभापतिमा निर्विरोध भएका हुन् । क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत पनि निर्विरोध चयन भएका छन् ।

महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ राधा कोइराला निर्विरोध भएकी छिन् । जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा निर्विरोध भएका छन् । दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान पनि निर्विरोध भए । क्षेत्रीय सदस्यमा खस आर्यतर्फ सुदिप वर्तौला पनि निर्विरोध चयन भएका छन् ।

बाँकी पदमा भने मतदान भइरहेको छ । यस्तै क्षेत्र नम्बर २ मा पनि अहिले मतदान भइरहेको छ । क्षेत्रीय सभापतिको लागि लोक मोक्तान र ईश्वर उपाध्यायको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ मा सभापतिसहित क्षेत्रीय सचिवको दुइ पदमा र महाधिवेशन प्रतिनिधिको लागि मतदान भइरहेको छ । अन्य पदमा भने मुक्तान प्यानलका उम्मेदवार सर्वसम्मत चयन भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here