हेटौंडा–नेपाली कांग्रेस मकवानपुरको अधिवेशन महाधिवेशनपछि मात्र हुने भएको छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा बागमती प्रदेश अधिवेशन गर्नुपर्ने र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न तयारी नपुग्ने भएकाले अधिवेशन सार्ने निर्णय गरिएको हो ।

कांग्रेस जिल्ला पदाधिकारी र सल्लाहकारसहितको बैठकको सर्वसम्मत निर्णयले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्न निर्वाचन अधिकृत समक्ष अनुरोध गरेको नेपाली कांग्रेस मकवानपुरका सहभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । मंसिर ६ गते मात्रै संघको क्षेत्रीय अधिवेशन सम्पन्न भएको र बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै गर्नुपर्ने भएकाले त्यसअघि जिल्ला अधिवेशन गर्न सम्भव नभएको निष्कर्ष निकालिएको बुधबार हेटौंडामा पत्रकारहरुसँगको भेटमा बानियाँले बताए ।

‘भर्खरै क्षेत्रीय अधिवेशनहरु सकेका छौं । अब हेटौंडामै हुने प्रदेश अधिवशेनको तयारी गर्न ढिला भइसक्यो । त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न सम्भवै नहुने भयो ।’ बानियाँले भने–‘प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि छानिइसकेकाले जिल्ला अधिवेशन नहुँदा प्रदेश र केन्द्रको महाधिवेशनलाई असर गर्ने पनि होइन । त्यसैले जिल्ला अधिवेशन सार्नु नै उचित देखियो ।’

उनले बागमती प्रदेश अधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सबै किसिमको तयारीमा जुट्न पनि सबै नेता कार्यकर्तालाई अनुरोध गरे । कांग्रेसको केन्द्रीय महाधिवेशन पनि मंसिर २४, २५ र २६ गते हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here