हेटौंडा–नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । सभापतिको लागि आइतबार भएको दोस्रो चरणको मतदानबाट बानियाँको पक्षमा बहुमत जुटेपछि उनी सभापतिमा निर्वाचित भएका हुन् ।

अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीलाई पराजित गर्दै बानियाँ प्रदेशको पहिलो सभापतिमा निर्वाचित भएका हुन् । कुल दुइ हजार २५ खसेको मत मध्ये बानियाँले एक हजार ८५ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी केसीले ९२७ मत प्राप्त गरेका छन् । संस्थापन पक्षबाट उम्मेदवार रहेका बानियाँले रामचन्द्र पौडेल पक्षका उम्मेदवार केसीलाई १५८ मत अतान्तरले पराजित गरेका हुन् । १३ मत बदर भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसिर १६ गतेबाट हेटौंडामा प्रदेश अधिवेशन सुरु भएको थियो । शनिबार भएको निर्वाचनमा सभापतिमा ३ जना उम्मेदवार रहेकोमा कसैको पनि स्पष्ट बहुमत नआएपछि पुनः मतदान भएको थियो । कांग्रेसको बिधानअनुसार निर्वाचित हुनको लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्नेमा बानियाँको ४८ प्रतिशत मात्र मत प्राप्त भएपछि पुनः निर्वाचन गरिएको थियो ।

पहिलो चरणमा बानियाँले ९९२ मत प्राप्त गरेका थिए भने केसीले ८७२ मत प्राप्त गरेका थिए । सिटौला समूहका उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गरेका थिए । दोस्रो चरणको निर्वाचनमा सिटौला समूहका सभापतिका दाबेबार प्रधानले बानियाँलाई साथ दिएका थिए । प्रदेशमा बागमती प्रदेशमा केन्द्रीय महाधिवेशन प्रतिनिधि ८७६ जना, प्रदेश प्रतिनिधि १२४५ जना र केन्द्रीय सदस्य १६ जना, शुभेच्छुक संघ/संस्था गरी दुई हजार १५१ जना मतदाता रहेका थिए । जसमध्ये आज २ हजार २५ मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here