हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा निर्वाचित ईन्द्रबहादुर बानियाँले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा लोकतन्त्रको एउटा राम्रो अभ्यास मात्र भएको भन्दै यसमा कसैको जीत र कसैको हार नभएको बताएका छन् । सभापतिमा निर्वाचित भएपछि कांग्रेसजनबीचमा छोटो मन्तव्य राख्दै बानियाँले भने–‘यो कांग्रेसभित्रको आन्तरिक प्रतिपष्र्धा हो, लोकतन्त्रको सुन्दर अभ्यास हो । यसमा कोही हारेको छैन । कोही जितेको पनि छैन । जुनदिन कांग्रेसले जनताको बीचमा जित्छ त्यो दिन मात्र माला, खादा र अबीर लगाउँला ।’

कसैले पनि यसमा जीतको रुपमा उत्सव मनाउनुपर्ने र पराजयको रुपमा खिन्न हुनुपर्ने अवस्था नरहेको उनले प्रष्ट्याए । ‘कार्यकर्ताका बीचमा उर्जा बढाउने ढंगले अघि बढ्नुपर्छ । यसमा कुनै उत्सव मनाउनुपर्दैन । मैले जितेको होइन, जिम्मेवारी लिएको हो ।’ बानियाँले भने–‘यो जिम्मेवारीमा चुनौती धेरै छ । भोलि जनताको बीचमा कांग्रेसलाई जिताउनु छ । भ्रमको सिर्जना गर्ने कम्युनिष्टको भण्डाफोर अभियान सञ्चालन गर्नुछ ।’

पहिलो चरणमा सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले दोस्रो चरणको निर्वाचनमा आफूलाई साथ दिएर उदार हृदय प्रस्तुत गरेको भन्दै उनले प्रधानलाई धन्यवाद दिए । आफ्नो प्रतिष्पर्धीको रुपमा रहेका जगदिश्वरनरसिंह केसी प्रति पनि उनले धन्यवाद दिँदै कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई समेटेर अघि बढ्ने बताए ।

नेपाली कांग्रेस मकवानपुरका सभापतिसमेत रहेका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् । २०७४ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्य जितेका बानियाँले गृहराज्यमन्त्रीकोसमेत जिम्मेवारी सम्हालिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here