मनहरी–नेपालकै पहिलो बालमैैत्री गाउँपालिका घोषणा गरिएको मकवानपुरको मनहरी गाउँपालिकाले बालमैत्री सहजकर्तालाई नै बर्खास्त गरेको छ । पुस २७ गते बसेको गाउँ कार्यपालिका बैठकले २०७५ सालदेखि निरन्तर बालमैत्री अभियानमा वडा वडामा काम गरिरहेका ९ जना बालमैत्री सहजकर्ता र एक कृषि प्राविधिक सहायकलाई बिदाई गर्ने निर्णय गरेको हो ।

बर्खास्तमा परेका कर्मचारीमध्ये २ जना सुत्केरी र २ जना गर्भवती रहेको जनाइएको छ । बालबालिका र महिलालाई मानसिक र आर्थिक क्षति हुने गरी मनहरी गाउँपालिकाले निर्णय गरेको भन्दै विरोध हुन थालेको छ । यसअघि बालमैत्री सहजकर्ताहरुलाई चालू आर्थिक बर्षको अन्तिमसम्म सम्झौता थप गर्ने निर्णय भएको थियो । वडा तहमा बाल क्लव गठन, उनीहरुको क्रियाकलापहरु सञ्चालन र रेखदेखका साथै वडा कार्यालयहरुमा पन्जीकरण र उपभोक्ता समितिहरुका काममा समेत सहजीकरणको काममा ९ जना सहजकर्तालाई ज्यालादारीमा राखिएको थियो । बर्खास्तीमा पर्नेमा गाउँपालिकाको कृषि शाखामा काम गरिरहेकी यशोदा दुलाललाईसमेत आगामी माघ २० गतेबाट हटाउने निर्णय गरिएको छ ।


‘बालमैत्री गाउँपालिका घोषणा गरिसकिएको र सोलाई निरन्तरता मात्र दिनुपनपर्ने, गाउँपालिकाको आन्तरिक आम्दानी समेत कम भएको र गाउँपालिकालाई आवश्यक परेको खण्डमा फेरि पनि आवश्यकता अनुसार बालमैत्री सहजकर्ता नियुक्त गर्ने प्रतिवद्धतासाथ साबिकमा कार्यरत सबै बालमैत्री सहजकर्तालाई धन्यवादसहित माघ १ गतेबाट करार÷ज्यालादारी सम्झौता भंग गर्ने ।’ बैठकको निर्णयमा लेखिएको छ । कृषि प्राविधिक सहायक यशोदा दुलाललाई पनि सम्झौता भंग गर्ने अर्काे बुँदामा निर्णय गरिएको छ ।

गाउँपालिकाकाकी उपाध्यक्ष मनिला विष्ट अनुपस्थित उक्त बैठकमा मनहरी ९ का वडाध्यक्ष साधुराम अधिकारी, ३ का वडाध्यक्ष बिष्णुबहादुर थिङ र २ का वडाध्यक्ष आनन्द घलानले निर्णय पुस्तिकामा असहमति लेखेका छन् । राजनीतिक आस्थाका आधारमा यस्तो गलत निर्णय गरिएको एक वडाध्यक्षले बताए ।

बालमैत्री शासन व्यवस्थामा महिला, बालबालिका, गर्भवती र शिशुहरुलाई उच्च प्राथमिकतामा राखेर व्यवहार गरिनुपर्ने व्यवस्था छ । तर, देशकै पहिलो बालमैत्री घोषित गाउँपालिकाले आफ्नै अधिकांश महिला कर्मचारी, गर्भवती र सुत्केरी कर्मचारीसमेतलाई हटाइएको भन्दै विभिन्न माध्यमबाट विरोध सुरु भएको छ ।

गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले भने आफूहरुको आन्तरिक आम्दानी कमजोर हुँदै गएकाले बालमैत्री सहजकर्तालाई बिदाई गर्ने निर्णय गरिएको बताए । ‘ढुङ्गा गिट्टी बालुवाको ठेक्का लगाउनको लागि आईईसमेत हुन नसकेकाले यस वर्ष आन्तरिक आम्दानी कमजोर भएको छ । आन्तरिक स्रोतबाट तोकिएका योजनाहरुसमेत सम्झौता नगर्न सूचना गरेका छौं । यस्तो अवस्थामा ज्यालादारीमा राखिएका सहजकर्तालाई तलब खुवाउन नसक्ने अवस्था आएका कारण बिदाई गरिएको हो ।’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने–‘उहाँहरुको करार गरी समय थप गर्नुपर्ने कानुनी बाध्यता पनि नभएकाले हामीले बिदाई गरेका हौं । यसमा कुनै आग्रह पूर्वाग्रह छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here