हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुक्रबार स्वास्थ्य सामग्री र खोपको मौज्दातबारे अनुगमन गरेका छन् । उनले स्वास्थ्य आपूर्ति केन्द्रको स्वास्थ्य सामग्री भण्डारण र खोप भण्डारण स्थलको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा कोभिडका लागि आवश्यक स्वास्थ्य सामग्री, अन्य औषधि, कोभिड खोप र अन्य नियमित खोपको मौज्दात र भण्डारण व्यवस्थापनबारे जानकारी लिएका छन् । अनुगमनपछि मन्त्री लामाले तथ्यांक अनुसार अहिले प्रदेशमा स्वास्थ्य सामग्री र खोपको अवस्था सन्तोषजनक रहेको पाइए पनि बढ्दो कोरोना जोखिम नियन्त्रण, रोकथाम र उपचारमा कुनै कमी नहुने गरि स्वास्थ्य सामग्री र खोप व्यवस्थापनमा लाग्न निर्देशन दिए । उनले कोरोना संक्रमितको संख्या बढिरहँदा अक्सिजनको माग बढ्ने भएकाले प्रदेशका अस्पतालमा रहेका अक्सिजन प्लान्टलाई सन्चालन गर्न तयारी अवस्थामा राख्न र १३ वटै जिल्लाका स्वास्थ्य इकाईहरूमा स्वास्थ्य सामग्रीबारे निरन्तर अपडेट गर्न निर्देशन दिए ।
मन्त्री लामालाई केन्द्रका प्रमुख डा. अर्जुन सापकोटाले स्वास्थ्य सामग्री र खोपको मौज्दात र आपूर्तिको आगामी योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर कार्की, आपूर्तिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here