‘नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो ।’
हामीलाई आमाले, हजुरआमाले धेरै पटक सुनाउनुभयो यो उखान र यसको सान्दर्भिकता । मैले मेरा अनुज पुस्तालाई सुनाइहाल्ने सन्दर्भ दुई वर्ष अघिसम्म पाएको थिइनँ । त्यसपछि लगातार पाइरहेको छु ।

हामीले नौलो बनाउने नौ दिन होइन नौ महिना पायौं कोभिडको पहिलो लहरमा । बालबालिकाहरू लगातार नौ महिनासम्म विद्यालयको दैलो नटेकी घरभित्रै बसे । अभिभावकलाई आफ्ना बालबालिका सम्हाल्न धौधौ भयो । विद्यालय पठाउन मनले मानेन । केही सोच्नै नदिई कोभिडको पहिलो लहर यसरी फैलिएको थियो कि संसारमा मानव अस्तित्व लगभग यति नै होला भन्नेमा धेरै मानिस पुगे । टेलिभिजन अन गर्नै नहुने, रेडियो सुने पनि त्यही, सामाजिक सञ्जालभरि छापछाप्ती उही कुरा –‘आज थप यति नयाँ संक्रमित, मृत्यु हुनेको संख्या यति पुग्यो ।’
मिनेट(मिनेटमा वर्ल्डोमिटरको तथ्याङ्क बढिरहेको थियो । डरको पारो उत्तिकै चढिरहेको थियो । बाँचे संसार छँदैछ, मरियो भने त मरिहालियो नि ।

सोच्दै कहालीलाग्दो यो परिवेशमा घरि चिहानमा जमिन अभाव भएको, घरि घाटमा दाउरा सकिएको समाचार आए । लासले जल्नलाई समेत पालो पर्खनुपरेको क्षण साँच्चै हृदयविदारक थियो । मान्छेसँग मान्छे नै डराइरहेका थिए । अलि अघिसम्म ‘जिउँदाको जन्ती, मर्दा मलामी’ भन्नेहरू आफ्नै परिवारका सदस्यको अन्तिम संस्कार गर्न समेत नसक्ने अवस्थामा थिए ।
कसलाई निस्कनु थियो र घरबाहिर ?

संसार थुनिएको बखत बालबालिका पनि त घरबाहिर निस्कन दिनु हुँदैनथ्यो । तर अबोध बालबालिकाको चञ्चलता र चुलबुलेपनालाई रोक्ने कसरी ? मोबाइल मोबाइल एउटा यस्तो साधन थियो जुन हातमा परेपछि बच्चालाई खुवाउनु(पियाउनु पर्दैनथ्यो । बच्चाले रुने, झगडा गर्ने कुरा ठ्याक्कै बिर्सन्थे । बाआमा घरधन्दामा व्यस्त रहँदा ती बालबालिका कहिल्यै अवरोध गर्न पुग्दैनथे । बाटोमा, छिमेकीको घरमा कतै पनि जान्छु भन्दैनथ्यो । यति जाति चीज दिएर आफू निर्धक्क हुन सकिन्छ भने किन नदिने ? दियौँ । पूराका पूरा नौ महिना हाम्रा बालबालिकाको गोठालो, धरालो त्यही मोबाइल बन्यो ।

त्यसपछि के भयो, बच्चाले मोबाइलसँगै कार्टुन पायो । युट्युब पायो । फेसबुक, टिकटक पायो । फ्रि–फायर, पब्जी अनि अरुअरु थुप्रै पायो । उसलाई किताब/कापी चाहिएन । रङ्गीन चित्रहरू र कथा/कविता चाहिएन । भकुन्डो, भाँडाकुटी चाहिएन । साथी चाहिएन । दाजुभाइ/दिदीबहिनी, आमाबुबा चाहिएन । यी सबै नचाहिएपछि किन चाहियो स्कुल ? किन याद गर्नुपर्यो सर मिसहरूका अनुहार ?

यसरी नौ-नौ महिना बिताएका बालबालिकालाई बल्लबल्ल स्कुल पुग्ने वातावरण त बन्यो, तर मात्रै केही महिना । यतिञ्जेल उनीहरूले बिर्सिसकेका अक्षरहरू र सरमिसहरूका अनुहार याद गर्नगर्न आँटेका थिए । तर सकेनन् । स्कुल पुग्दासम्म झल्झली आँखामा फेरि उही मोबाइलको स्क्रिन नाँचिरहेको हुन्थ्यो । जसोतसो मोबाइलको स्क्रिनबाट किताबका पानामा आउनै आँटेका थिए , दोस्रो लहर सुरु भयो । दोहोरियो उही चक्र ।

फेरि छ महिना लगाएर स्कुल खुले । फेरि बालबालिकालाई मोबाइलको स्क्रिनबाट किताबका पानामा उतार्ने प्रयास भयो । फेरि तेस्रो लहर आयो । फेरि उही क्रम चल्यो । यतिबेला हामी फेरि स्कुल खोल्ने तरखरमा छौं । बालबालिकालाई फेरि मोबाइलको स्क्रिनबाट उतारेर किताबका पानामा ल्याउनु छ । कार्टुनबाट कापी र क्यानभासमा उतार्नु छ । यो निश्चय नै सहज छैन ।
शिक्षकशिक्षिकाहरूले फलामको च्युरा चपाउनुपर्नेछ । अभिभावकहरू ग्रेडसीटमा फेरि पनि उही दुई वर्ष अघिकै उत्कृष्ट नतिजा खोज्नेछन् । बालबालिकाले खरर सफा अक्षरमा लेखेको हेर्न चाहन्छन् । किताबका पाठहरू फरर पढेको सुन्न चाहन्छन् ।

फागुन १ गतेदेखि स्कुल खुल्दै गर्दा शिक्षकशिक्षिकाहरूको टाउको यी सबै जिम्मेवारीको भारीले थिचिएको हुनेछ । यो कुरा ती शिक्षकशिक्षिकालाई मात्रै थाहा छ कि बालबालिकाको सिकाइको स्तर त्यहीँ छ जहाँ हामीले २०७६ सालको फागुन अन्तिम साता छोडेका थियौं । फेरि एकपटक स्कुलको गेटमा आइपुगेर बालबालिकाले शिक्षकशिक्षिकालाई अनौठो मानेर हेर्नेछन् । बडो हार्दिकतापूर्वक बालबालिकालाई शिक्षकशिक्षिकाहरूले सोध्नुहुनेछ ‘मलाई चिन्छौ नि !’ (लेखक हेटौंडा–१८ स्थित मकवानपुर बाल विद्या सदनका प्रिन्सिपलसमेत हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here