हेटाैंडा- मकवानपुरकाे बकैया गाउँपालिकामा कला साहित्य महाेत्सव हुने भएकाे छ । अग्रणी साहित्यिक संस्था झरना साहित्यिक मकवानपुरले अागामी फाल्गुन २७ र २८ गते बकैया—३, हात्तिसुँडेमा बकैया कला–साहित्य महोत्सव अायाेजना गर्न लागेकाे हाे ।

बकैया गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको महोत्सव बकैया–३, हात्तीसुँडेस्थित बुद्ध माविको प्राङ्गण र बकैया गाउँपालिकाको सभाहलमा हुने झरनाका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

झरनाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गर्दै आएकोमा पछिल्ला दुई वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आइरहेको अध्यक्ष गौतमले बताए ।

यसै वर्षबाट स्थानीय कला संस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले बकैया कला–साहित्य महोत्सव गरिन लागेको बताए । दुई दिवसीय महोत्सवका क्रममा कविता, गजल, मुक्तक विशेष कार्यक्रमहरूका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खैँजडी भजन, तामाङ, माझी, राईलगायतका जनजातिका कला संस्कृतिको प्रस्तुतिका साथै छिमेकी जिल्लाका कलाकारको विशेष प्रस्तुति समेत गरिने आयोजकले जनाएको छ । साथै, स्थानीय कलाकारका विविध कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी गरिने साथै बहसमूलक कार्यक्रम र कार्यपत्र प्रस्तुतिसमेत गरिने संस्थाका सचिब मसान उपासकले जानकारी दिए ।

उक्त महोत्सवमा देशभरबाट करिब ५० जना साहित्यकार, गायक र बकैया गाउँपालिकाका राजनीतिक सामाजिक अगुवासहित करिब ५०० जनाको उपस्थिति रहने अपेक्षा गरिएकाे छ ।

महोत्सवका क्रममा नगद रु २१,१२१ र सम्मानपत्रसहित होमनाथ टीकामाया प्रतिभा सम्मान–२०७८ बाट अग्रज साहित्यकार एवम् प्राज्ञ डा. देवी नेपाल (भक्तपुर), नगद रु. १५,५५५ र सम्मानपत्रसहित शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०७८ बाट अग्रज मुक्तककार वियोगी बुढाथोकी (काठमाडौँ), नगद रु. १५,५५५ र सम्मानपत्रसहित बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान–२०७८ बाट अग्रज साहित्यकार आर. सी. रिजाल (मकवानपुर), नगद रु. ७,७७७ र सम्मानपत्रसहित खडानन्द–मनमाया स्मृति युवा प्रतिभा सम्मान–२०७८ बाट युवा कवि यात्रीप्रकाश पाण्डे (धादिङ), नगद रु. ७,७७७ र सम्मानपत्रसहित सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७८ बाट युवाकवि शान्ति प्रियवन्दना (मकवानपुर), नगद रु. ७,७७७ र सम्मानपत्रसहित सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७८ बाट समाजसेवी बेलप्रसाद दहाल, बकैया–४लाई प्रदान गरिने भएकाे छ ।

नगद रु. ७,७७७ , सम्मानपत्रसहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०७८ बाट कलाकार बाबुलाल वाइबा (मकवानपुर), नगद रु. ७,७७७, सम्मानपत्रसहित झरना–बकैया पत्रकारिता सम्मान–२०७८ बाट पत्रकार गोकर्ण गौतम (मरणोपरान्त) बकैया–४ र नगद रु. ५,००५ र सम्मानपत्रसहित झरना–बकैया नवप्रतिभा सम्मान–२०७८ बाट उदीयमान गजलकार विजय दोङ बकैया–५ सम्मानित गर्ने कार्यक्रम रहेकाे संस्थाका सचिव उपासकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here