नुवाकोट/बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले राज्यबाट कार्यान्वयन हुने पूर्वाधार बिकासका कार्यक्रमहरु नागरिकहरुको जीवनस्तर सुधार र समग्र आर्थिक बिकाससंग समेत जोडिनुपर्ने भएकाले यस सम्बन्धी रणनीतिहरुमा पुनरावलोकन आवश्यक भएको बताएका छन् । पूर्बाधार निर्माणका क्षेत्रमा संघ, प्रदेश र स्थानीयतहबाट कार्यान्वयन हुने कार्यक्रमहरुमा एकरुपता नदेखिएकाले पारदर्शी र प्रभावकारी पूर्वाधार निर्माणका लागि एकीकृत र आवश्यकताहरुको प्राथमिकिकरण सहितको रणनीति निर्माण गरिनुपर्ने राज्यमन्त्री प्रजाकाे भनाई थियो ।

सोमबार नेपाली काँग्रेस नुवाकोटले पार्टी कार्यालयमा गरेको स्वागतका क्रममा राज्यमन्त्री प्रजाले बागमती प्रदेश सरकार पूर्वाधार बिकासमा केन्द्रित रहेको र बेरोजगार जनशक्तिलाई पूर्वाधार निर्माणमा लगाई उनीहरुलाई राष्ट्र बिकासको मूलप्रवाहमा जोड्ने अभिप्रायका साथ अघि बढिरहेको समेत स्पष्ट पारे । त्यसक्रममा नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापा र सचिव श्रीराम श्रेष्ठले जिल्लाको बिकास निर्माणको अवस्था र प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्ने योजनाहरुको संबन्धमा राज्यमन्त्री प्रजाकाे ध्यानाकर्षण गराएका थिए । यसअघि राज्यमन्त्रीले नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको अवलोकनका क्रममा क्याम्पसका पूर्बाधारहरु अव्यवस्थित रहेकाले ब्यवस्थित निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्दे प्रतिबद्धता समेत जनाएका थिए ।

उनले साेमबार नै जिल्ला पूर्बाधार कार्यालय नुवाकोटको निरीक्षणका क्रममा प्रदेश सरकारबाट नुवाकोटमा संचालित पूर्वाधार बिकासका योजनाहरुका बारेमा जानकारी लिनुका साथै पूर्वाधार निर्माणको काम पारदर्शी र प्रभावकारी रुपमा समयमा निर्माण सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here