हेटौंडा- बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन् ।
अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना सन्देश दिंदै मन्त्री लामाले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरुले दृढता, प्रतिवद्धता र इमान्दारीका साथ अहोरात्र खटेर संक्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापनमा देखाएको सक्रियताका कारण नर्सहरुप्रति विरामी र आम नागरिकको सम्मान र श्रद्धा बढिरहेको बताएका हुन् ।
उनले नर्सहरुको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारको प्रगतिको लागि बिरामीको आत्मबल बढाउन दिने निरन्तरको हौसलाको स्वास्थ्य क्षेत्रमा सधैं नै आवश्यकता रहने समेत बताएका छन् । स्वास्थ्य क्षेत्रमा नर्सहरुको निरन्तर महत्वपूर्ण योगदानको अपेक्षासहित अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा मन्त्री लामाले शुभकामना व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय जगतमा नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ । ‘नर्सहरु: नेतृत्वको लागि एक आवाज–विश्वव्यापी स्वास्थ्य सेवा सुरक्षित गर्नको लागि नर्सिंङ क्षेत्रमा लगानी गर्नुहोस्’ भन्ने नाराका साथ आज विश्वव्यापी रुपमा मनाईदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here