हेटौंडा–नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा हेटौंडामा प्रथम राष्ट्रिय बाल साहित्य महोत्सव भएको छ । हेटौंडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको हलमा विविध साहित्यिक कार्यक्रम, सम्मान तथा पुरस्कार वितरण गर्दै साहित्य महोत्सव सम्पन्न गरिएको हो ।

हेटौँडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रयोजन रहेको उत्सवमा प्याब्सन जिल्ला समिति मकवानपुर र नगर समिति हेटौँडाले समेत आर्थिक सहकार्य गरेका थिए । चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यतामा भएको महोत्सवमा अग्रज बालसाहित्यकार प्रमोद प्रधान, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको विशिष्ट आतिथ्य रहेको थियो । महोत्सवमा देशका सातै प्रदेशका बालसाहित्यकार÷साहित्यिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

उत्सवका क्रममा साहित्यसेवी दाजुभाइद्वय केदारनाथ न्यौपाने र विष्णुप्रसाद न्यौपानेले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको नगद रु. १५,५५५ सहितको ’लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९’ बाट अग्रज बालसाहित्यकार तथा अन्वेषक प्रमोद प्रधान सम्मानित भएका छन् । त्यस्तै रुबिना शर्माद्वारा आफ्ना दाजुको स्मृतिमा स्थापित ’प्रदेश १ नवसर्जक सम्मान–२०७९’ बाट झापाकी बालस्रष्टा अन्वेषा चापागाईँ, साहित्यसेवी रमेशमोहन अधिकारीले स्थापना गरेको ‘मधेस प्रदेश नवसर्जक सम्मान–२०७९’ बाट बाराका बालसर्जक अभिजित राम, जयन्ती आचार्यले स्थापना गरेको ‘बागमती प्रदेश नवसर्जक सम्मान–२०७९’ बाट भक्तपुरकी अनुज्ञा नेपाल, अर्चना दहालले स्थापना गरेको ‘गण्डकी प्रदेश नवसर्जक सम्मान–२०७९’ बाट कास्की, पोखराका बालसर्जक अनुराग सापकोटा, डिबी बर्ताैलाले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको ‘लुम्बिनी प्रदेश नवसर्जक सम्मान–२०७९’ बाट कपिलपस्तुका पवन अधिकारी, प्रभा पौडेलले आफ्नी हजुरआमाको स्मृतिमा स्थापना गरेको ‘कर्णाली प्रदेश नवसर्जक सम्मान–२०७९’ बाट दैलेखका नवसर्जक नवीन पाण्डे र पुष्कल नेपालले स्थापना गरेको ‘सुदूरपश्चिम प्रदेश नवसर्जक सम्मान–२०७९’ बाट ऋष्टिना करिया प्रधान थारु सम्मानित भएका छन् । उनीहरुको पुरस्कार राशी समान रु. ७,७७७ रहेको छ ।

उत्सवका क्रममा चौतारीको गठनपूर्व र पश्चातका महत्त्वपूर्ण गतिविधि र प्रादेशिक बालसाहित्यको इतिहास एवम् बाल केन्द्रित लेखरचना समाविष्ट ’नवसिर्जना’ नाम स्मारिका समेत विमोचन गरिएको थियो । हेटौँडा बाहिरबाट सातै प्रदेशका गरी ३५ जना र हेटौंडाका २५० जना गरी करिब ३०० शिक्षक, विद्यार्थी एवम् साहित्यकारको उपस्थितिसहित कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा हेटौंडाका विभिन्न सामुदायिक तथा संस्थागत गरी २० वटा विद्यालयका र खुला गरी २५ जना विद्यार्थीले समेत रचना वाचन गरेका थिए । बालबालिकाकै नेतृत्व र साहित्यिक अभियन्ता दीपक गौतमको परिकल्पना र संरक्षकत्वमा अघि बढिरहेको चौतारीले विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here