हेटौंडा–४ स्थित भुटनदेवी माविले व्यावसायिक सटरको५ वर्षको आयव्यय विवरण सार्वजनिक गरेको छ । व्यावसायिक सटर निर्माण गरी भाडामा दिने प्रक्रिया र आम्दानीको सदुपयोगका विषयमा आलोचना भएपछि विद्यालय व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी आयव्यय विवरण जानकारी गराएको हो ।
सुरुवाती चरणमा निर्माण भएका ३० वटा व्यावसायिक सटर विद्यालयले व्यवसायीसँग सम्झौता गरेर भाडामा लगाएको जानकारी दिएको छ । पछिल्लो समय निर्माण गरिएका ४० वटा व्यावसायिक सटर भने विद्यालयले सार्वजनिक खरिद ऐन अन्तर्गत टेण्डर प्रक्रियाबाट व्यवसायीसँग सम्झौता गरेको भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिए । व्यावसायिक सटर निर्माण गरी भाडामा लगाएर विद्यालयले २ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको प्रधानाध्यापक दाहालले जानकारी दिए ।
विद्यालयका लागि आयश्रोत हुनुका साथै विद्यालयको जमिनको संरक्षण समेत हुने भएकोले व्यावसायिक सटर निर्माण गरिएको विद्यालयको दावी छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा दोर्जे लामाले व्यावसायिक सटर निर्माण गरेर भएको आम्दानीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको प्रयास भइरहेको जानकारी दिए ।


