हेटौंडा–बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले सरकारले आदिवासी जनजातिको भेषभुष, भाषा र संस्कृतिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । संविधानले समावेशीता, समानता एवम् मौलिक अधिकारलाई सुरक्षित गरेको भएतापनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

शनिबारबाट हेटौंडामा सुरु भएको किराँत देवास राई उत्थान समाज नेपालको े पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजाले आदिवासी, जनजाति, सिमान्तकृत तथा अल्पसंख्यक समूदायको हितका लागि तीनै तहका सरकारले विशेष योजना ल्याई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । समाजमा अझै पनि भेदभावपूर्ण व्यवहार कायम हुनुमा यथास्थितिबादी जिम्मेवार रहेको उनको ठहर छ ।

बागमती प्रदेश सरकारले भाषा आयोग गठन गरेको स्मरण गराउँदै उनले जनजातिहरुको भाषा तथा लिपीको विकास गरिनेसमेत बताए । किराँत राई (यायोक्खा) को केन्द्रीय महासचिव जनक राईले नेपाल कला, भाषा, संस्कृतिको सवालमा विश्वमा नै अब्बल रहेको बताउँदै नेपालको संस्कार उत्कृष्ट भएको बताए । अनेकतामा एकता भनेझैं नेपालमा धेरै जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग र सम्प्रदायका मानिसहरु बसोबास गर्दै आएको भएपनि उनीहरुबीच आपसी सद्भाव एवम् भाइचाराको सम्बन्ध रहेको उनले बताए ।

समाजका केन्द्रीय अध्यक्ष आस्मान राईको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष श्याम राईले स्वागत गर्दै जनजातिको पहिचानको लडाईं कायम रहेको बताए । कार्यक्रममा महासचिव प्रेम राई र जिल्ला शाखा अध्यक्ष बद्रिबहादुर राई, सिन्धुलीका समाजसेवी छत्रबहादुर राईलगायतले किराँत राईको हक हितको लडाईंमा सबैको साथ को अपेक्षा गरे ।

अधिवेशनको पहिलो दिन शनिवार झाँकीसहितको राई समुदायको पहिचान झल्कने नाचगान प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहपूर्व झाँकीसहितको र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । भोलि बन्दसत्र सुरु हुनेछ । भोलि नै समाजको नयाँ कार्यसमिति चयन हुनेसमेत जनाइएको छ । कार्यक्रममा किराँत राईको मौलिक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here