हेटौंडा–विज्ञान शिक्षक समाजको थाहा नगरपालिका अध्यक्षमा श्रीधर कार्की चयन भएका छन् । शनिबार भएको प्रथम नगर भेलाले कार्कीको अध्यक्षतामा नगर कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्ष प्रदीप केसी, सचिव हेमन्त कुवँर, सहसचिव बिक्रम मल्ल, कोषाध्यक्ष भुपेन्द्र गोपाली, सहकोषाध्यक्ष शर्मिला आले रहेका छन् । त्यस्तै सदस्यहरूमा पिताम्बर घिमिरे, प्रतिमा दहाल, मिलन मुक्तान, जयलाल स्याङ्तान, शीला गापाली, मिलन स्याङ्तान, ओम प्रकाश कुमार पण्डित र सल्लाहकारहरूमा निराजन कुँवर, नरेन्द्र प्रसाद सिंह र मनोज रायमाझी रहेका छन् ।
भेलामा थाहा नगर प्रमुख विष्णु बहादुर विष्टकोे प्रमुख आतिथ्यता रहेको थियो । शिक्षक जीवन तिमल्सिनाले सहजिकरण गरेको कार्यक्रममा समाजका जिल्ला अध्यक्ष खेमराज लामिछाने, सचिव सुवास खनाल, नगर शिक्षा संयोजक माधव विक्रम मल्ल, थाहा नगर ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, नगर शिक्षक महासंघ अध्यक्ष राजाराम कार्की , जनकल्याण माविका सहप्रधानाध्यापक मनोज रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले स्थानीय निकायका समितिहरूले स्थानीय सरकारसँगको समन्वयमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिए । साथै स्थानीय तहले शिक्षामा गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, सुदृढीकरणका साथै शिक्षा क्षेत्रमा नगरपालिकाले लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।
नगर प्रमुख विष्टले कार्यपालिका शिक्षा क्षेत्रलाई अघि बढाउन सधैँ तत्पर रहेको साथै वैज्ञानिक र गुणस्तरीय शिक्षाका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताए ।