मेरो नाम शर्मिला सुनार हो । म मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित ज्यामिरेमा बस्छु । मेरो तीन वटा सन्तान छन् । म सामान्य खेतीपाती गरेर जीवन निर्वाह गर्दैछु । गत भदौ २५ गते खाना बनाउन लाग्दा म छारे रोगले गर्दा एक्कासी ढलेँ । मलाई केही थाहा हुँदैन त्यतिखेर, मेरो खुट्टा अगेनामा परेछ । बाबुले चिच्याउने, रुने गरेर छिमेकीले देखेर मलाई अगेनाबाट निकाल्दिनु भएछ । त्यसपछि यहि मनहरीमै उपचार गरेर बस्दै गरेको छु । मनहरी हस्पिटलमा हुँदा गाउँघरमा पनि सहयोग माग्यौं तर, कसैले पनि केहि गरेनन् । मनहरी हस्पिटलमा पनि केही समय उपचार गर्दै रोकथामको लागि बस्दै गरेँ । त्यहाँबाट पनि अब तपाईं ठूलो हस्पिटल जानु घाउ ठूलो छ भन्नुभयो । हामी जान सकेनौं, नाजुक अवस्था थियो ।
ईन्द्र बानियाँ ज्यूले चाहिँ मेरो अवस्थाको बारेमा थाहा पाएर मलाई खोज्दैखोज्दै घरमै आएर मेरो घाउ हेरेर ठूलो हस्पिटल जानको लागि सहयोग गर्नुभएको हो । आगोले डढेर पुरै पाकेको मेरो यो खुट्टा करिब डेढ महिनापछि भरतपुर गएसी त्यहाँ माथिको पुरै छाला काटेर तल टाँसेर अप्रेशन गरियो । त्यो अप्रेशन गरेर छाला टाँस्न नपाएको भए मेरो कुन हालत हुन्थ्यो होला भनेर कहिलेकाहिँ सोच्छु । पहिला घाउ पाकेर पानी, पिप र रगत निक्लिन्थ्यो । मेरो माइतीमा माइजु हुनुहुन्थ्यो । माइजुले मेरो सबै कुरो राखेर ईन्द्र बानियाँ ज्यू आउनुभयो । उहाँले सहयोग गरेर म अहिले राम्रो छु, वैशाखी टेकेर अलिअलि हिँड्न सक्ने भाको छु । मलाई अहिले राम्रै छ ।
मेरो आत्मादेखि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । उहाँलाई धेरै राम्रो होस्, जे–जे आँट्नु भएको छ सबै काम सफल होस् । थ्यांक यु ईन्द्र बानियाँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here