हेटौंडा–आख्यानकार रामलाल जोशीको कथा सङ्ग्रह ‘बाआमा’ माथि हेटौंडामा अन्तरक्रिया भएको छ । नेपाली लेखक सङ्घ मकवानपुरको आयोजनामा शनिबार जोशीको कथा संग्रहमाथि विमर्श गरिएको हो ।

कार्यक्रममा समिक्षक घनश्याम घिमिरेले पुस्तकमाथि समीक्षा गर्दै १२ वटा कथा संग्रहित पुस्तकको भाषाशैली निकै सरल रहेको बताए । विशेष गरी ज्येष्ठ नागरिकको अन्तरमनको पीडा, मर्म र भावनाहरु कथा संग्रहले बोकेको घिमिरेको भनाइ थियो । सबै हिसाबले उत्कृष्ट भएर पनि अधिकांश कथाहरु वियोगान्तमा टुङ्ग्याइँदा केही निराशाका भावले प्राथमिकता पाएको तर्क गरे ।

नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्यको अध्यक्षतामा भएको कार्यक्रममा पाठकको तर्फबाट सीताराम वर्तौला र सानु खनालले लेखकको कृतिमाथि आफ्ना धारणाहरु राखेका थिए । समीक्षक तथा पाठकको प्रतिक्रियापछि बोल्दै कृतिकार रामलाल जोशीले आफूले नेपाली समाजको वास्तविकता कथामार्फत बोलेको बताए । कथामा आञ्चलिकता झल्काउने आफ्नो रुचिबारे बोल्दै जोशीले आफूले कृतिमा नेपालको पश्चिम क्षेत्रको जनजीवन र भोगाईहरु कथामार्फत बोलेको प्रष्ट पारे ।

नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘बाआमा’ कृतिको प्रकाशक बुकहिलका सञ्चालक भूपेन्द्र खड्काले पुस्तकमाथि आफ्ना धारणाहरु राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here