हेटाैंडा- बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईंले आफ्नो कार्यकालमा प्रदेशको कृषि, पशुपंक्षी तथा मत्स्य क्षेत्रको रुपान्तरणमा महत्वपूर्ण काम भएको दावी गरेका छन् । आफ्नो कार्यकालको १३ महिनाको अवधिमा कतिपय पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सम्पन्न गर्नुका साथै धेरै नयाँ कार्यक्रम सुरुवात गरिएको मन्त्री हुमागाईंले बताए ।

मन्त्री हुमागाईंले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त प्रस्तुत गरेका थिए । प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा मन्त्रालयबाट बिदा हुने क्रममा रहेका हुमागाईंले आफूले मन्त्री भएर आएपछि ५५ बुँदे मार्गचित्र प्रस्तुत गर्दै सोहीअनुसार कामहरु गरिएको बताए । कृषि क्षेत्रमा प्रवाह भइरहेको अनुदान कार्यलाई व्यवस्थित बनाउन बिउपुँजी कोष सम्बन्धी कार्यको सुरुवात गराएका हुमागाईंले सो कामलाई आफ्नो कार्यकालकाे महत्वपूर्ण कामको रुपमा चित्रण गरेका छन् । चालु आवमा प्रदेश सरकारले साना तथा ठूला किसानलाई गरी करिब ५५ करोड बिउपुँजी उपलब्ध गराउन लागेको छ ।

अध्यादेशमार्फत कृषि विकास ऐन बनाएर मन्त्रालयले किसान परिचयपत्र वितरण, कृषि बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने जस्ता कार्यलाई प्रक्रियामा लगेको छ ।  यसअघिको सरकारले सुरुवात गरेको दुग्ध पाउडर प्लान्ट स्थापनाको कामले हुमागाईको कार्यकालमा निरन्तरता पाउँदै करिब ९५ प्रतिशत सम्पन्न भएको बताइएको छ ।

कृषकलाई दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै प्रतिलिटर दूधमा दिइँदै आइएको अनुदान रकम बढाएर पाँच रुपैयाँ पु¥याइएको छ । विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरणको कार्य पनि सुरुवात गर्दै यसवर्षको कार्यक्रमलाई प्रक्रियामा लगिएको मन्त्रालयले जनाएको छ । प्रदेशका ३० स्थानमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाको लागि बोलपत्र आह्वान गरिएको मन्त्री हुमागाईंले बताए । माटो परीक्षण कार्यलाई तिव्रता दिनुका साथै बिउमा आत्मनिर्भरताउन्मुख कार्यक्रममा पनि मन्त्रालयले ध्यान दिएको छ ।

करिब १५ हजार मेट्रिकटन फलफूल तथा तरकारी भण्डार क्षमताको शीत भण्डारहरु पनि निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । प्रदेशका ८ जिल्लाका विभिन्न १० स्थानमा निर्माणाधीन शीत भण्डार निर्माणको करिब ८० प्रतिशत काम सकिएको मन्त्री हुमागाईको भनाइ छ । चितवनमा आधुनिक भेटेरीनरी अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको बताउँदै  भेटेरीनरी एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको पनि उनले बताए ।
मन्त्रालयले प्रदेश बीउ बिजन नियन्त्रण केन्द्र स्थापनादेखि प्रदेशमा बिउबिजन उत्पादनमा प्रोत्साहन गर्न कृषकलाई उत्पादनको आधारमा प्रोत्साहन रकमसमेत वितरण गरेको थियो । आलु, तरकारी, प्याजलगायतका बालीहरुमा आत्मनिर्भर बन्नको लागि उत्पादन प्रवद्र्धन कार्यक्रम पनि सुरुवात गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री हुमागाईले आफ्नो कार्यकालमा कृषि तथा पशुपंक्षी सम्बन्धी २५ वटा नयाँ कार्यविधि बनाइएको बताउँदै ७ वटा पुराना कार्यविधिमा संशोधन गरिएको सुनाए ।


अघिल्ला सरकारले ल्याएको राम्रा कार्यक्रमहरुँलाई निरन्तरता दिइएको भन्दै मन्त्री हुमागाईंले आगामी सरकारले पनि आफूहरुले ल्याएको कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, महाशाखा प्रमुख झलकनाथ कँडेललगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here