हेटौंडा– हेटौंडा–१० स्थित टिसिएन चौरमा जारी राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सदाझैं सोमबार पनि राष्ट्रिय कलाकारका साथ दर्शकले मनारेन्जन लिएका छन् । बाल गायक अशोक दर्जीसहितका कलाकारसँग हेटौंडेली दर्शकले आनन्द लिए ।
दर्जीले मन विनाको धन ठुलो की धन विनाको मन भन्ने गीतमा दर्जी सँगै दर्शकहरुले उक्त गीत गाउँदै रमाएका थिए । दर्शकदीर्घामा नाच्दै कम्मर मर्काउँदै गायक दर्जी र गायक तथा संगीतकार टंक बुढाथोकीको प्रस्तुतीमा दर्शकहरु रमाइरहेका थिए । गायक बुढाथोकी र दर्जीले करिब एक दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए । उनीहरुले चौरीको चाम्रो छुर्पी…,रुपै मोहनी नारायण…, तिम्रो फोटो देखाई देखाई…, कसरी कसरी…, टिकटकमा देखेको…, बाआमा भनेका जिउदा देवता हुन…, कोही डाक्टर बोलाइदेउन, तोरी तेल लाएर कपाल कालो भो जस्ता करिब एक दर्जन गीत प्रस्तुत गर्दै हेटौंडेली दर्शकलाई नचाएका थिए ।
महोत्सवमा गायक प्रदीप त्रिपाटी र गायिका मञ्जु पौडेलले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । त्यस्तै हेटौंडेली कलाकार सुलेमान शंकर ईकुले कमेडी प्रस्तुत गर्नुुका साथै बेली डान्सर अस्मिता पुरीको नृत्य प्रस्तुत भएको थियो । महोत्सवमा भोलि मंगलबार गायिका अस्मिता अधिकारी, लोक गायक खेम सेन्चुरी, कमेडियन प्रभात लामाको प्रस्तुती रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए । महोत्सवमा चर्चित गायक प्रकाश सपुतको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । आइतबार महोत्सवमा गायिका रमेशराज भट्टराई, गायिका सहिमा श्रेष्ठ र स्याण्टअप कमेडियन सीता न्यौपानेले आफ्नो प्रस्तुति दिएका थिए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दिपक उप्रेतीले बताए । ११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।