हेटौंडा–तेस्रो हेटौंडा बाल कला साहित्य महोत्सव आगामी माघ २७ र २८ गते हुने भएको छ । नवोदय शिशु सदन, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेशनले विभिन्न संघसंस्थासँगको सहकार्यमा महोत्सवको आयोजना गर्न लागेको हो ।
सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने तथा कलाको पहिचान गराउँदै त्यसप्रति रुचि जगाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । महोत्सवमा शिक्षक, साहित्यकार कलाकारबाट कला साहित्यको विभिन्न विधामा कार्यशालाहरु सञ्चालन गरिने महोत्सव मुल समारोह समितिका संयोजक सिएम रिमालले जानकारी दिए । कार्यशालाबाट शिक्षक, अभिभावक, विद्यँर्थी वर्ग तथा विद्यालयहरुले आफूलाई सिर्जनात्मक तरिकाले निखार्ने मौका पाउने रिमालले बताए ।
शिक्षक तथा विद्यार्थीहरुको कार्यशालाको माध्यमबाट कला साहित्यको सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्दै भाषा विकासका लागि यसको सम्बन्ध र प्रयोगलाई प्रोत्साहन मिल्ने नवोदय शिशु सदनका निर्देशक दिपेश जोशीले बताए । पठन संस्कृतिको विकासका साथै नयाँ सर्जक र प्रतिष्ठित राष्ट्रिय सर्जकहरु माझ पुलको निर्माण गर्दै सहकार्य गर्ने उद्देश्य महोत्सवको रहेको पनि उनले बताए ।
महोत्सवमा कथा, कविता, गजल, गीत, नाटक, मुक्तक, छोटो कथा लेखनका कार्यशालाहरु सञ्चालन हुनेछ । साथै कलाको विभिन्न विधामा पनि कार्यशाला हुने कार्यक्रम संयोजक रिमालले बताए ।
महोत्सवमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, पाकिस्तानी लेखक, कलाकार तथा शिक्षाविद् रुमना हुसेन, भारतीय लेखक वृत्तचित्र निर्देशक समिना मिश्र, बाल साहित्यकार अनुराधा, सर्वनाम थिएटरका संस्थापक नाटककार अशेष मल्ललगायत प्रतिष्ठित साहित्यकार, लेखक, कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । महोत्सवमा मकवानपुर र आसपासका जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, सर्वसाधारण गरी करिब ६ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ । महोत्सव माघ २७ गते बिहान १० देखि १२ः३० बजेसम्म र २८ गते बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म सञ्चालन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here