हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा शनिबार दर्शकको अत्याधिक घुइँचो भएको छ । अन्य दिन भन्दा शनिबार दर्शकहरुको अत्याधिक चाप बढेको हो । धेरै नै दर्शकको चाप बढेकाले आउन जान सहज होस् भनी आयोजकले करिब २ घण्टा टिकट विक्रीमा रोक लगाएको थियो ।
दर्शकहरुको जन गुनासो रहेपछि आयोजकले टिकट विक्री रोकेको थियो । दर्शकको घुइँचो सामान्य भएपश्चात टिकट विक्री सुरु गरिएको संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालले बताए ।
शनिबार करिब ३० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको एघारौं दिन शनिबार करिब ७० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ ।
शनिबार युवा पुस्तामा चर्चित रहेका गायक निशान भट्टराई, प्रताप दासले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकलाई नचाएका थिए । त्यस्तै, बाल गायक जेनिश उप्रेतीले पनि आफ्नो प्रस्तुती दिएका थिए । भोली आइतबार गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्यको प्रस्तुती रहने रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ । शनिबार आइडलबाट विजय लामा र आवाज सुनार बाहिरेका छन् ।
११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा भोली आइतबार मकवानपुर सहकारी अस्पतालका विशेषज्ञहरुद्धारा स्वास्थ्य परिक्षण गरिने आयोजकले जनाएको छ ।