उपराष्ट्रपतिको निर्वाचनलाई लिएर बैठक, छलफल, अन्तरक्रिया नगर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।

निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको निर्वाचनको तयारी पूरा भएको र मौन अवधि लागू भइसकेको जनाएको छ। मौन अवधिका समयमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार नगर्न आयोगले अनुरोध गरेको छ।

यससँगै आयोगले कुन उम्मेदवारलाई मत दिने वा नदिने भनेर निर्णय नगर्न पनि सचेत गराएको छ। सत्तारूढ १० दलीय गठबन्धनको चैत १ गते बसेको बैठकमा उपराष्ट्रपतिमा कसलाई मत दिने भनेर छलफल भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो। त्यसमाथि आज पनि बैठक बसालेर निर्णय गर्ने तय भएको थियो।

यो निर्वाचन आचारसंहिता विपरीतको कार्य भएको जनाउँदै आयोगले कुन उम्मेदवारलाई मत दिने वा नदिने भनेर निर्णय गर्न नहुने जनाएको छ। त्यस्तै, आचारसंहिता विपरीत प्रेस विज्ञप्ति निकाल्ने, सामाजिक सञ्जाल मार्फत मत माग्ने लगायत कार्य नगर्न पनि सचेत गराएको छ।

यससँगै आयोगले उपराष्ट्रपति निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ। यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here