हेटौंडा, १६ वैशाख/ ‘लाइव्रेरी पर्व’ को रुपमा परिचित वि.सं. १९८७ को वैशाख १६ गतेको घटनाको सम्झना गर्दै मकवानपुरमा प्रथम राष्ट्रिय लेखक दिवस मनाइएको छ । नेपाली लेखक संघ मकवानपुरको आयोजनामा शनिबार ‘राष्ट्रिय लेखक दिवसको सान्दर्भिकतामाथि बहस तथा रचना वाचन’ सहित कार्यक्रम सम्पन्न भएको हो ।

बहसमा सहभागी वक्ताहरूले नेपालमा लेखकहरूको छुट्टै दिवस मनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । लेखकहरूको छुट्टै दिवस नभएको अवस्थामा नेपाली लेखक संघको आव्हानमा भएको यस कार्यक्रमले लेखकहरूलाई उर्जा दिने वक्ताहरूले बताएका छन् । बहसमा सहभागी वामपन्थी विचारक घनश्याम घिमिरेले वैशाख १६ गते नै राष्ट्रिय लेखक दिवस मनाउने सन्दर्भमा भने पूनःविचार गर्नुपर्ने बताए । वैशाख १६ ‘लाइव्रेरी पर्व’सँग जोडिएकाले बरु लेखकहरूलाई नै प्रत्यक्ष जोड्ने कुनै दिनलाई राष्ट्रिय लेखक दिवसका रुपमा लैजाने विषयमा बहस केन्द्रित गर्नुपर्ने घिमिरेको जोड रहेको थियो । यस्तै अर्का बहसकर्ता कृष्णप्रसाद दाहालले एउटा लामो गृहकार्यपछि नेपाली लेखक संघले राष्ट्रिय लेखक दिवसको दिन सिफारिस गरेको प्रसङ्ग जोड्दै यसका विषयमा अरु चौतर्फी बहस हुनुपर्नेमा सहमति जनाएका छन् । बहस कार्यक्रमकाे सहजकर्ताकाे भूमिकामा राम अविकास रहेका थिए ।

संघ मकवानपुरका अध्यक्ष छवि अनित्यको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य हयग्रीव आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली लेखक संघ, केन्द्रीय कार्यसमितिले राष्ट्रिय लेखक दिवस मनाउने सन्दर्भमा अध्ययन गर्न गठन गरेको कार्यदलको सुझाव अनुसार वैशाख १६ गतेका दिन उपयुक्त हुने ठहर गर्दै यसपटक प्रथम राष्ट्रिय लेखक दिवसका रुपमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन आव्हान गरेको थियो । जसअनुसार शनिबार संघका देशभरका बीसभन्दा बढी जिल्लाकार्यसमितिहरूले छुट्टाछुट्टै कार्यक्रम गरी देशव्यापी रुपमा दिवस मनाएका छन् ।

कार्यक्रममा हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, ८ नम्बर वडाध्यक्ष राम थापा, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, बकैया बाङ्मय प्रतिष्ठानका अध्यक्ष दीपक गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केन्द्रीय कार्यसमितिको आयोजनामा शनिबार नै प्रज्ञा प्रतिष्ठान काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा वरिष्ठ कवि वैरागी काइँलालाई एक लाख रुपैयाँ नगद सहित पुरस्कृत गरेको छ । उपप्रधान तथा गृहमन्त्री पूर्णबहादुर खड्काले काइँलालाई सम्मानित गर्दै लेखक सदाको प्रतिपक्ष हुनुपर्नेमा जोड दिए । उनले प्रजातन्त्रका लागि लेखकको अत्यन्त ठूलो भूमिका रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here