हेटौंडा,२३ वैशाख/ सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा हास्य व्यङ्ग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद मुलतिहुनको कविता सर्वोत्कृष्ट घोषित भएको छ । मुलतिहुनको ‘जाँडरक्सी महोत्सव’ शीर्षकको हास्यव्यङ्ग्य कविताले प्रथम स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

प्रतिया्ेगितामा मकवानपुरका कवि प्रभास घिमिरेको कविता ‘बाँदर’ द्वितीय, सुनसरीका कवि सुरज पराजुलीको कविता ‘फलानो’ तृतीय भएको छ । यस्तै कास्कीका कवि संयोग बस्यालको ‘हामी’ र कमल घिमिरेको ‘नेताज्यूलाई स्वागत छ’ कविता सान्त्वना घोषित भयो । प्रतियोगितामा द्वितीय हुनेलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वना हुनेलाई ३ हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

देशभरबाट प्राप्त ८१ कवितामध्ये २५ कविता पहिलो चरणमा समावेश गरी वाचनका लागि निम्त्याइएको थियो । पहिलो चरणमा नरनाथ लुइँटेल, निमेष निखिल तथा आरसी रिजाल निर्णायकको भूमिका निर्वाह गरेका थिए भने दास्रो चरणमा नरनाथ लुइटेल र निमेष निखिलले मूल्याङ्कन गरेका थिए ।

सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा सिस्नुपानी नेपालका संस्थापक तथा सल्लाहकार नरनाथ लुइँटेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल, कार्यक्रममा सिस्नुपानी नेपालका सचिव सरोज घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, आँचल साहित्य कला प्रतिष्ठानका अध्यक्ष भावना सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here