हेटौंडा– बामगती प्रदेशको बजेट अधिवेशन मंगलबारबाट सुरु भएको छ । वर्षे अधिवेशनको पहिलो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आव २०८०÷८१ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मन्त्री लामाले प्रदेशका विपन्न नागरिकहरुलाई आर्थिक आयआर्जनतर्फ कृषि उद्यमी र उत्पादनको लागि प्याकेज कार्यक्रम सञ्चालन गर्ने र साना उद्यमीहरुलाई उद्योग सञ्चालनको लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेमा जोड दिए ।

पर्यटन क्षेत्रलाई प्रदेशको विशेष आर्थिक क्षेत्रको रुपमा विकास गर्नुका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्न बजेट केन्द्रित हुने उनले बताए । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा निजी क्षेत्रसँग थप सहकार्य गरिने पनि उनले बताए । रोजगारी र स्वरोजगारीका अवसरहरुको सिर्जनाको लागि युवाहरुलाई सिपमुलक तालिम प्रदान गर्न र वित्तीय सहयोग उपलब्ध गराउन बजेट केन्द्रित रहने लामाले बताए ।

‘उच्च मूल्ययुक्त कृषि उत्पादनमा लगानी प्रवद्र्धन गरिनेछ । कृषि उपज भण्डार र बजारीकरण गरिनेछ ।’ मन्त्री लामाद्धारा प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकतामा भनिएको छ–‘कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्दै कृषिमा आधारिक उद्योगलाई प्रोत्साहन गर्नुका साथै पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरिनेछ ।

आगामी आर्थिक वर्षको बजेट प्रदेशको आर्थिक क्षेत्रहरुलाई चलायमान गराउनेमा केन्द्रित हुने आर्थिक मामिला मन्त्रीको भनाइ छ । प्रदेशको संस्थागत सबलीकरण, सामाजिक क्षेत्र विकास र सार्वजनिक सेवा प्रवाहको सुदृढीकरणको कार्यलाई पनि प्रथामिकता दिइने उल्लेख छ ।

आर्थिक सामाजिक विकासमा पछि परेका क्षेत्र, जाति, लिङ्ग र समुदायको उत्थानका लागि विशेष नीति ल्याउनु आवश्यक रहेको औंल्याइएको छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट विनियोजन गर्ने बताउँदै मन्त्री लामाले प्रदेशको संस्थागत विकास र सबलीकरण गरी प्रदेशलाई संविधानले प्रदत्त गरेको अधिकार क्षेत्रभित्र दायित्व पूरा गर्न बजेट केन्द्रित रहने बताए ।

वर्षे अधिवेशनको पहिलो बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख नेताहरुले शुभकामना मन्तव्यका साथ आफ्ना भनाइहरु राखेका थिए । बैठकमा उनीहरुले राष्ट्रिय सरोकारको साथै बाढीपहिरोबाट प्रभावित क्षेत्रलाई समयमै सरकारको तर्फबाट निगरानी र उद्दार कार्यको लागि सजकता अपनाउनुपर्ने धारणा राखेका थिए ।

दलका नेताहरुले प्रदेशमा सुशासन ल्याउन र बढ्दै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्नका लागि सबै राजनीतिक दलहरुमा दलगत स्वार्थ त्यागेर कठोर कदम चाल्नुपर्नेमा जोड दिएका थिए । प्रदेशसभाको अर्को बैठक आज बुधबार बिहान ११ बजेलाई बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here